काठमाडौँ उपत्यकाका मुख्य चोकहरूमा अहिले एलियन भेषमा मानिसहरू देखिन थालेका छन् ।
वसन्तपुर, पाटन, बानेश्वर, बौद्ध, कुमारीपाटी लगायत मुख्य चोकहरूमा देखिने ती एलियन भेषका मानिसहरूले कहिले केही खाइरहेका हुन्छन् भने कहिले हाते ब्यागमा सामान बोकिरहेको हुन्छन् ।
एलियन मुकुटधारी मानिसहरूलाई देखेपछि पैदलयात्री, सवारीसाधनमा यात्रा गर्नेहरूले अचम्म मान्दै हेरिरहेको दृश्य देखिन्छ ।
चलचित्रमा एलियन देखेकाहरू उनीहरूसँग सेल्फी खिच्न निकै उत्सुक थिए । अनौठो मान्दै उनीहरूसँग तस्बिर खिचाउनेहरूको भिड बढ्दै गएपछि हामीले मुकुटधारीलाई नजिकबाट पछ्यायौँ ।
उनीहरूको हातमा पठाओ नेपाल अङ्कित झोला थियो । उनीहरूले लगाएको कपडामा पनि पठाओको लोगो भेटियो । फेसबुकमा विवेक शाहीले शुक्रवार बसन्तपुरमा आफूले एलियन मुकुटधारी देखेको भन्दै एक तस्बिर पोस्ट गरेका छन् ।
उनी लगायत अन्यले पनि सामाजिक सञ्जालमा एलियनसँग खिचेका सेल्फी र भिडियो पोस्ट गरेको देखेपछि हामीले पठाओ नेपालको मार्केटिङ हेड सुरक्षा हमाललाई सोध्यौ, “चोक चोकमा एलियन मुकुटधारी मानिसहरू किन ?” हमालले यसको बारेमा विस्तृत जानकारी १९ डिसेम्बर (मंगलबार) मात्रै दिन सकिने बताइन् ।