
बिर्तामोड । झापाको शिवशताक्षी नगरपालिका-५ आमबाडीमा आठ बर्षीया बालिका बलात्कृत भएकी छन् ।
स्थानीय ५५ वर्षीय फुलसिंह ताजपुरियाले ती बालिकालाई सोमबार बिहान खेतमा जबरजस्ती करणी गरेको जाहेरीपश्चात प्रहरीले अनुसन्धानको लागि उनलाई पक्राउ गरेको हो ।
ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाई फकाई धानबारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको झापा प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले केटिएम दैनिकलाई बताए ।
ताजपुरियालाई अहिले ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान भइरहेको छ ।
बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन आइसकेको छैन । जाहेरीमा जबरजस्ती करणी उल्लेख भएका त्यही विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरी/बालिकाहरूलाई करणी गर्नेउपर पीडितको उमेर र परिस्थिति हेरेर विभिन्न कैद सजाय, जरिवाना र पीडितलाई मनासिव क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ ३(क) का अनुसार १० वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई जन्मकैदको व्यवस्था, सात लाख रुपैयाँ जरिवाना र पीडितलाई मनासिव क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।
