
२३ वर्षअघि हत्या गरेर वैदेशिक रोजगार, नेपाल आएपछि लुकेर बसेका व्यक्तिलाई सर्वस्व सहित जन्म कैद
पोखरामा २०५६ सालमा एक व्यक्तिको हत्या गरेको आरोपमा फरार रहेका व्यक्ति २३ वर्षपछी पक्राउ परेका छन् ।
२०५६ साल साउन २२ गते पोखरा महानगरपालिका-३ तेर्सापट्टी स्थित ताज पुलमा राजेश थकालीलाई हत्या गरेको अभियोगमा फरार रहेका उमेश गिरीलाई पक्राउ गरी अदालतमा पेश गरेपछि उनलाई जेल चलान गरिएको छ ।
थकालीलाई गिरीसहित १० जनाले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । घटनापछि प्रहरीले पक्राउ गरेका गिरी बाहेक अन्य प्रतिवादीहरूले अहिले जेल सजाय काटिरहेका छन् तर गिरी भने फरार थिए ।
उक्त मुद्दामा फरार रहेका गिरीलाई जिल्ला अदालतको २०६६ फाल्गुन २७ गते फैसलाले सर्वस्व सहित जन्मकैद ठहर भएको हुनाले उनलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका नि.सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले केटिएम दैनिकलाई बताए ।
घटनापछि गिरी लामो समयसम्म वैदेशीक रोजगारको सिलसिलामा विभिन्न देश पुगेको खुलेको छ । पक्राउपछि उनले प्रहरीले दिएको बयान अनुसार घटनापछि प्रहरीले आफूलाई खोजिरहेको थाहा पाएपछि पोखराबाट काठमाडौं पुगेका गिरी त्यहाँबाट कतार गएर करिब १२ वर्ष बसेको, त्यसपछि इराक गई ३ बर्ष बसेको, त्यसपछि २ वर्ष अफगानिस्थान गएर बसेको खुलेको छ ।
७ वर्ष अगाडी नेपाल आई चितवनमा आएर कहिले वर्कसप त कहिले वाइन सप पसल खोली आफ्नो परिचय लुकाएर उनी बसेका थिए ।
आफ्नो नाम विप्लव भन्ने, बुवा आमा समेतको स-परिवार युकेमा रहेका र आफू पनि युके जाने आउने गर्छु भनेर स्थानीयसँग भन्ने गरेका गिरी करिब सात महिना अघि युके जाने भनि त्यहाँबाट निस्किएर भारत केही महिना बसेर डेढ महिना अघि मात्र चितवन आएको खुलेको छ ।