झापा । मोटरसाइकलमा गोरुको मासु बोकेर हिंडिरहेको अवस्थामा झापाको भद्रपुर नगरपालिका-४ पाँचकठ्ठेमा भदौ २४ गते बिहान ३:३० बजे दुई जना फेला परेका थिए ।
प्रहरीको सोधपुछका क्रममा उक्त मोटरसाइकलका चालक भद्रपुर नगरपालिका-४ बस्ने वर्ष २७ काअनिश श्रेष्ठ मोटरसाइकल त्यहाँ छाडेर प्रहरीलाई धकेलेर फरार भएका थिए ।
प्रहरीले मोटरसाइकलको पछाडि बसेका सोही स्थानका वर्ष २१ का सुमन राना मगरलाई गोरुको मासु, मासु टुक्रा पार्न प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका रानालाई प्रहरीले पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा चलायो । झापा जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाले कात्तिक २३ गते गरेको फैसलाले उक्त कसुरमा रानालाई निर्दोष सावित गर्दै श्रेष्ठलाई दोषी ठहर गर्यो ।
फरार रहेका श्रेष्ठ चैत १ गते पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका श्रेष्ठलाई प्रहरीले अदालतको आदेशअनुसार जेल पठाएको छ । अदालतले श्रेष्ठलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा रहेको पशुपंक्षी सम्बन्धी कसुर अन्तरगत एक वर्ष कैद सजाय निर्धारण गरेको छ ।
कानूनमा के छ ?
मुलुकी अपराध संहिता २०७४ ले गाई, गोरु मार्न वा कुट्न नहुने त्यसो गरेमा अपराध गरेको ठहर गर्दै सजाय समेत तोकेको छ । संहिताको परिच्छेद २७ मा रहेको पशुपंक्षी सम्बन्धी कसुरको दफा २८९ मा कसैले गाई वा गोरु मारेमा तीन वर्षसम्म कैद र कुटेर अङ्गभङ्ग पारेमा छ महिनासम्म कैद हुनेछ ।
तर, कुनै गाई वा गोरुले आफ्नो वा अरूको जिउ वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने कसुर गरेको मानिने छैन भनेर पनि सोही दफामा उल्लेख छ ।