
काठमाडौँ । फरक क्षमता भएकी एक बालिकामाथि बालयौन दुरुपयोग गरेको मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतबाट उक्त मुद्दामा दोषी ठहर भएता पनि फरार रहेका ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको टोलीले बुधवार पक्राउ गरेको हो ।
२०७८ फाल्गुन ३० गते जिल्ला अदालतले गरेको फैसला अनुसार दोषी ठहर भएका दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर डी/४ हट नम्बर ३९० बस्ने वर्ष ५९ को ताराबिर महत भन्ने टेकबहादुर महत जेल चलान भएका हुन् ।
जिल्ला न्यायाधीश शंकरबहादुर राईको एकल इजलासले महतलाई फरक क्षमता भएकी बालिकामाथि बालयौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दै पाँच महिना कैद, दश हजार रुपैयाँ जरिवाना र पीडितलाई रु २५ हजार क्षतिपूर्ति हुने फैसला गरेका थिए ।

मुलुकी अपराध संहिता २०७४ को दफा २२५ मा बालयौन दुरुपयोग गर्न नहुने उल्लेख छ । उक्त दफा को उपदफा २ मा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिने उल्लेख छ ।
उपदफा ३ मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

जिल्ला न्यायाधीश राईले सोही दफामा टेकेर महतलाई सजाय निर्धारण गरेका हुन् ।
प्रहरीले पक्राउ गरेका महतलाई फैसला कार्यान्वयनको लागि बिहीबार नै कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको झापा प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले केटिएम दैनिकलाई बताए ।

समाजका भद्र भलादमी बसेर सम्वन्धविच्छेद, दोस्रो विवाह गरेका चेतमान पुगे जेल
काठमाडौँ । “कानुनको अज्ञानता क्षम्य हुँदैन” अर्थात् कसैले कानुन प्रतिकुल हुने...
शुक्रवार, भदौ २९ २०८०घटना के हो ?
घटना २०७८ साल वैशाख ४ गतेको हो । भुटानी शरणार्थी शिविरमा बस्ने फरक क्षमता भएकी बालिकालाई छिमेकी टेक बहादुर महतले घरनजिकै फोहोर फाल्ने मैदानको एकान्त स्थानमा लगेर ती बालिकालाई काखमा राखी छाती, पिसाब गर्ने ठाउँ छुने समाउने गरेको भन्दै पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय दमकमा बालयौन दुरुपयोगमा किटानी जाहेरी दिएकी थिइन् ।
बालिकाले अदालतसमक्ष दिएको बयानमा आफू सानै देखि रोगी भई राम्रोसँग बढ्न नसकेको । प्रस्ट बोल्न नसक्ने, र अनपढ रहेको बताएकी छिन् ।
उनले भनेकी छन्, ‘घटना भएको दिन बाबा आमा जङ्गल गएको बेला आफू बाटोमा खेलिरहेको अवस्थामा महतले राम्रो खेल्ने ठाउँ देखाइदिन्छु भनी हातमा समातेर केही पर फोहोर फाल्ने एकान्त मैदानमा लगेर मेरो छाती समात्दै, पिसाब गर्ने ठाउँमा छुन थालेपछि म महतको हातबाट फुत्केर भागेकी हुँ ।’

तर, प्रतिवादी ताराविर महत भन्ने टेकबहादुर महतले अदालतसमक्ष इन्कारी बयान दिएका छन् ।उनले बयानमा बालिका फोहोर फाल्ने ठाउँमा खेलिरहेको अवस्थामा देखेपछि उनको हात समाएर उठाएर घर पठाएको बताएका छन् ।
महतले इन्कारी बयान दिएता पनि कुनै पनि परिवारले कसैलाई फसाउनको लागि आफ्नो छोरीमाथि सामाजिक दाग लाग्ने गरी उजुरी नदिने कुरालाई मुख्य आधार मानेको छ ।

अदालतको पूर्ण पाठमा लेखिएको छ, ‘जाहेरवाला र पीडितले विना कारण आफैलाई सामाजिक दाग लाग्ने किसिमबाट प्रतिवादीले यौन दुरुपयोग गरेकी भनी पोल गर्नुपर्ने केही देखिँदैन ।’
धरौटीमा छुटेका थिए महत
प्रस्टसँग बोल्न नसक्ने १७ वर्ष आठ महिनाकी किशोरीलाई घरमा कोही नभएको मौका छोपेर करणी गर्ने आशयले किशोरीको संवेदनशील अङ्ग सुमसुम्याई बालयौन दुरुपयोग गर्ने महतलाई प्रहरीले घटना भएको भोलिपल्ट नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका महतलाई प्रहरीले २४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान पश्चात् सरकारी वकिलको कार्यालय मार्फत बालयौन दुरुपयोग मुद्दामा अदालत पेस गरेको थियो ।
२०७८ वैशाख २९ गते झापा जिल्ला अदालतले उनलाई ६५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
मुद्दाको अन्तिम टुङ्गो लाग्न ११ महिना लाग्यो । धरौटीमा रिहा भएका महत अदालतबाट दोषी ठहर भएपछि सम्पर्कविहीन भएका थिए ।