काठमाडौं । खातामा पर्याप्त रकम नभएको जानकारी हुँदाहुँदै चेक दिएर फरार रहेका एक व्यक्तिलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ ।
मोरङ विराटनगर महानगरपालिका-१५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ३५ वर्षीय आवास भन्ने आभाश अर्याललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसूरमा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बागबजारबाट पक्राउ गरेको व्यूरोका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद दाहालले केटिएम दैनिकलाई बताए ।
अर्यालले नबिल बैंक लिमिटेड काठमाडौं सिनामंगल शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ चैत ११ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको डिएसपी दाहालले बताए ।