काठमाडौं । खोटाङ र भोजपुरमा दुई बालिकामाथि जबरजस्ती करणी भएको छ ।
नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार खोटाङमा १६ वर्षीया बालिका र भोजपुरमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको हो ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै भोजपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-१३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती बालिकालाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरी/बालिकाहरूमाथि करणी गर्नेहरूलाई पीडितको उमेर र परिस्थिति अनुसार कैद सजाय तोकेको छ ।