इटहरी । तपाईलाई ४० लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ भन्दै एक महिललाई ठगेर फरार भएका व्यक्ति चार वर्षपछी पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा दुहवी नगरपालिका-१० का ३७ बर्षीय सञ्जय कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
चौधरीसहितका व्यक्तिहरुले २०७४ सालमा पर्वतको देउपुर गाउँपालिका-२ बस्ने संगिता गुरुङलाई तपाईको नाममा ४० लाख रकम बराबरको चिठ्ठा परेको र उक्त चिठ्ठाको कर तिर्नुपर्ने भन्दै पटक पटक गरेर लाखौं रकम ठगि गरेका थिए ।
गुरुङले आफू ठगिमा परेको थाहापाएपछि प्रहरीमा उजुरी दिएपछि प्रहरीले मुद्दा चलाएको थियो ।
जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलले २०७५ साल जेठ २७ गते गरेको फैसलाले चौधरीलाई ठगी मुद्धामा १ वर्ष ७ महिना कैद र पाँच लाख ६८ हजार ४५० रुपैयाँ जरिवाना तोकेको थियो ।
कैद तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले यही चैत्र ७ गते पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी अदालत उपस्थित गराईएकोमा कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।