
भोजपुर । आजभन्दा ३४ वर्षअगाडि हत्या गरेर फरार भएका व्यक्ति अहिले जेल चलान भएका छन् ।
२०४६ साल कात्तिक १७ गते तत्कालीन दोभाने गा.बि.स-६ मा एक व्यक्तिको हत्या गरेर फरार रहेका अभियुक्तमध्ये एक जनालाई भोजपुर प्रहरीले शुक्रवार सुनसरीबाट पक्राउ गरेर आइतबार जेल पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईका अनुसार २०४६ साल कात्तिक १७ गते साबिक दोभागे गा.बि.स.-७ का वडाध्यक्षको घरमा सुतिरहेका बद्री कुमार राईलाई तीन जनाले व्यक्तिले घरेलु हतियार (खुकुरी) प्रहार गरेका थिए ।
उनको शरीरका विभिन्न अङ्गहरूमा गम्भीर चोटपटक थियो भने बायाँ हात समेत छिनाएर लगिएको थियो ।
राईलाई उपचार गर्न लैजाने क्रममा बाटोमा नै निधन भएको बताइएको छ ।
घटनामा स्थानीय दुर राई, चक्र बहादुर राई र अर्का एक व्यक्ति सामेल थिए ।
कात्तिक २० गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा कर्तव्य ज्यान मुद्दा दर्ता भएर प्रहरीले अनुसन्धान प्रक्रिया पुरा गरे पश्चात् सरकारी वकिलको कार्यालय मार्फत अदालतमा मुद्दा पेस गरेको थियो ।
भोजपुर जिल्ला अदालतबाट २०६० जेठ २७ गते भएको फैसलाले तीनैजनालाई दोषी ठहर गर्दै सर्वस्व सहित जन्म कैद सजाय कायम गरेको थियो ।
घटनापछि फरार रहेका मध्ये चक्र बहादुर राईलाई प्रहरीले सुनसरी इटहरी उपमहानगर-२० तरहराबाट शुक्रवार पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक राईका अनुसार फैसला कार्यान्वयन अन्तर्गत भोजपुरबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बस्दै आइरहेका राईलाई घटना भएको ३४ वर्षपछि पक्राउ गरेको हो ।
आइतबार उनलाई भोजपुर कारागार थुनामा पठाइएको छ ।