सिन्धुपाल्चोक। चालक पेसामा आबद्ध भएका एक व्यक्तिले चलाएको सवारीसाधन आजभन्दा २६ वर्षअगाडि दुर्घटनामा हुँदा एक व्यक्तिको निधन भएको थियो ।
काठमाडौँ जिल्ला अदालतले २०५३ साल भदौ २७ गते गरेको फैसलाले उक्त सवारीसाधनका चालक तिलक प्रसाद ढुङ्गानालाई पाँच महिना दुई दिन कैद सजाय निर्धारण गरेको थियो ।
फरार रहेका ढुङ्गाना अहिले पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भएका वर्ष ५५ का ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले आज (आइतबार) पक्राउ गरेको हो ।
उनलाई आज चौतारा बजारबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी राम कुमार यादवले केटिएम दैनिकलाई बताए ।
नियन्त्रणमा लिइएका ढुङ्गानालाई आज सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेकोमा अदालतबाट उनलाई कैद असुलका लागि कारागार चलान गरिएको डिएसपी यादवले बताए ।