
काठमाडौँ । झुट्टा विवरण पेस गरेर विदेशी नागरिकलाई नेपालको नागरिकता दिलाउने कार्यमा संलग्न पूर्व वडाध्यक्ष जेल चलान भएका छन् ।
झापा जिल्लाको भद्रपुर नगरपालिका-९ का पूर्व वडाध्यक्ष शनिलाल राजवंशी जेल चलान भएका हुन् । उनी २०७४ को सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए ।
विदेशीलाई नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्ति, झुटा र किर्ते प्रमाणपत्र खडा गरी वा बनाई प्रचलनमा ल्याउने लगायतका कार्य गर्ने गरेको भन्ने उजुरीको आधारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापामा २०७६ असार ३ मा छानबिन सुरु गरेको थियो।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले यस घटनाको अनुसन्धान गर्दै १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउने कार्यमा ४६ जना संलग्न रहेको प्रतिवेदन बुझाएको थियो ।
नेपाली नागरिकता लिनेमध्ये अधिकांश तिब्बती नागरिक हुन् ।
राजवंशीउपर झुट्टा विवरण पेस गरी नागरिकता सिफारिस गर्ने कसुरमा तीन वटा मुद्दा थिए । झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमले २०७८ साल मङ्सिर १३ गते गरेको फैसला अनुसार राजवंशीलाई मुद्दा नम्बर ०७६-C१-०२०० मा एक वर्ष तीन महिना कैद र रु. पचास हजार जरिवाना हुने, मुद्दा नं. ०७६-C१-०१९७ र ०७६-C१-०१९८ को मुद्दामा क्रमशः छ महिना कैद र रु पच्चिस हजार जरिवाना हुने फैसला गरेका थिए ।
राजवंशी २०७८ असोज १३ गते पक्राउ परेका थिए भने भोलिपल्टै अदालतमा दुई लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
धरौटीमा रिहा भएका राजवंशी त्यसपछि अदालतमा उपस्थित भएनन् । फैसलामा चित्त नबुझेपछि उनी उच्च अदालत गए ।
उच्च अदालत विराटनगर, इलाम इजलासले २०८० साल जेठ २४ गते जिल्ला अदालतकै निर्णय सदर गर्यो । उनले आफूले राखेको धरौटी फिर्ता मागेता पनि तोकिएको समयमा अदालतमा उपस्थित नभएको हुँदा धरौटी फिर्ता नहुने निर्णय न्यायाधीशद्वय लोहित चन्द्र शाह र गीता प्रसाद तिम्सिनाले गरेका छन् ।
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३६ को उपदफा (३) ले एउटै मुद्दामा एउटै व्यक्तिलाई प्रचलित कानुन बमोजिम विभिन्न कसुर बापत विभिन्न कैदको सजाय भएकोमा त्यस्तो सजायमध्ये सबैभन्दा बढी कसुरको कैदको सजाय मात्र कार्यान्वयन गर्नु पर्ने उल्लेख छ ।

राजवंशी उपर एउटै कसुरका तीन वटा मुद्दामा सबैभन्दा बढी कैद सजाय भएको मुद्दा नम्बर ०७६-C१-०२०० अनुसार नै एक वर्ष तीन महिना कैद निर्धारण भएको हो । जरिवानाको हकमा भने कायम भएको सम्पूर्ण जरिवाना असुल गर्नुपर्ने हुन्छ । राजवंशीउपर तीनवटै मुद्दामा कायम भएको जरिवाना रकम जोडेर एक लाख पुर्याइएको हो ।
उच्च अदालतले जिल्ला अदालतकै निर्णय सदर गरेता पनि राजवंशी भने फरार नै थिए । उनलाई हिजो (आइतबार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।
पक्राउ परेका राजवंशीलाई कैद भुक्तानको लागि आइतबार नै कारागार कार्यालय चन्द्रगढी लगिएको छ ।
केटिएम दैनिकले प्राप्त गरेको राजवंशीको कैदी पुर्जी अनुसार उनी एक दिन न्यायिक हिरासतमा बसेको अवधि घटाएर उनलाई एक वर्ष दुई महिना २९ दिन कैद भुक्तानको लागि पुर्जी दिइएको छ ।
अन्य मुद्दा वा कारणले उनलाई कैदमा राखिरहनुपर्ने अवस्था नभएमा उनलाई २०८१ साल मङ्सिर १६ गते कैदमुक्त गरिनुपर्ने हुन्छ तर राजवंशीले कायम भएको जरिवाना रु एक लाख रुपैयाँ नबुझाएको खण्डमा उनीलाई थप एघार महिना चार दिन अर्थात् २०८२ साल कात्तिक १९ गतेसम्म कैद राखिने झापा जिल्ला अदालत तहसिल शाखाको चलानी नम्बर टी एच/४४५ उल्लेख भएको पत्रमा जनाइएको छ ।