बागलुङ । २०६९ सालमा सौता बनेर गएकी महिला बहुविवाह मुद्दामा अहिले जेल चलान भएकी छन् ।
घटना विवरणअनुसार २०६९ साल पुस २३ गते साविक बाटाकाचौर गाविस-२ हालको बरेङ गाउँपालिका-३ बस्ने राज बहादुर सार्कीको घरमा श्रीमती भएको थाहा हुँदाहुँदै कान्छी श्रीमती बनेर गएकी देवी सार्की अहिले जेल चलान भएकी हुन् ।
बागलुङ जिल्ला अदालतका न्यायाधीश जगत प्रसाद श्रेष्ठले २०७० माघ २७ गते गरेको फैसला अनुसार बहुविवाह गर्ने राजबहादुर सार्की र सौता बनेर गएकी देवी सार्कीलाई डेढ/डेढ वर्ष कैद सजाय र १०/१० हजार रुपैयाँ जरीवाना हुने आदेश दिएका थिए ।
मुद्दा परेपछि ५२/५२ हजार रुपैयाँ धरौटी राखेर रिहा भएका दुवै तारेखमा उपस्थित नभएपछि अदालतले उनीहरूको धरौटी पनि जफत गरेको थियो ।
अदालतको आदेशपछि फरार रहेका दुवैमध्ये देवी सार्कीलाई अहिले प्रहरीले पक्राउ गरेर जेल चलान गरेको हो । दोस्रो विवाह गर्ने राज बहादुर सार्की भने अहिलेसम्म फरार नै रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन केसीले केटिएम दैनिकलाई बताए ।
बागलुङबाट फरार भएर रुपन्देही जिल्लामा बसिरहेकी देवीलाई इलाका प्रहरी कार्यालय, बरेङडाँडा बागलुङबाट खटिएको टोलीले रुपन्देही जिल्लाबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी महिलालाई अदालतको आदेशअनुसार कैद भुक्तानको लागि जेल चलान गरिएको छ । उनका श्रीमान् राज बहादुर सार्की भने वैदेशिक रोजगारीको लागि विदेशमा रहेको बताइएको छ ।