
काठमाडौं । तीनवर्षअघि साथिको बहिनीलाई जबरजस्ती करणी प्रयास गरेर फरार रहेका एक व्यक्ति अहिले पक्राउ परेका छन् ।
२०७६ साल कात्तिक ७ गते बेलुका ८:०० बजे साथिको बहिनी बसिरहेको कोठामा छिरेर चुकुल लगाएर चौतारा साँगाचोगढी नगरपालिका-१३ बस्ने वर्ष २३ को विशाल के.सी (दुलाल) ले युवतीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए ।
पीडित युवतीले मद्दतको लागि गुहार मागेपछि पीडित युवतीका बाबुले ढोका फोडेर उद्दार गरेका थिए ।
त्यसपछि प्रहरीले नियन्त्रणमा लिएका के.सी. २०७६ मंसिर ३ गते अदालतको आदेशअनुसार एक लाख २० हजार रुपैयाँ धरौटीमा राखेर रिहा भएका थिए ।
तर, २०७८ असोज १३ गते सिन्धुपाल्चोक जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारीले के.सी.लाई जबरजस्ती करणी प्रयास गरेको भन्दै तीन वर्ष छ महिना कैद सजायँ र ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेका थिए ।
अदालतको निर्णयसँगै फरार रहेका केसीलाई आज आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका के.सी. लाई आजै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक चन्द्र भुसन यादवले केटिएम दैनिकलाई बताए ।