काठमाडौँ, २१ भाद्र । ललितपुरको सातदोवाटोमा रहेको न्यु नमस्ते रेस्टुरेन्ट बारमा किशोरीहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा प्रहरीले उक्त रेस्टुरेन्टका सञ्चालकद्वयलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका-२ घर भएका ३३ वर्षीय राजिव लामा र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-५ घर भई हाल ललितपुरमा बस्दै आइरहेकी सुनिता भन्ने सर्मिला कटुवाल रहेका छन् ।
कटुवाल र लामा उक्त रेस्टुरेन्ट एण्ड बारका सञ्चालक हुन् ।
उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलको टोलीले बुधवार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले आर्थिक अवस्था नाजुक भएका बालिका/महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी काममा राख्ने केही समय पछि बारमा आएका ग्राहकहरूसँग बसी मादक पदार्थ भर्ने, ग्राहकहरूसँगै बसेर खान लगाई धेरै बिल बढाउने काममा लगाउने गरेको खुल्न आएको छ ।
ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार बारमा आएका ग्राहकहरूलाई रोज्न लगाएर किशोरी/महिलासँग शारीरिक सम्पर्क राख्न पठाउने गरेको पाइएको छ ।
सञ्चालकद्वयले ग्राहकहरूबाट प्रतिव्यक्ति एक हजार देखी पाँच हजार सम्म लिई पीडितहरूलाई सो बापत प्रति व्यक्ति रु. पाँच सय दिने गरेको त्यहाँबाट उद्धार गरेका पीडित किशोरीहरूले बताएका छन् ।
त्यहाँबाट ठुलो परिमाणमा प्रयोग गरिसकिएका र प्रयोग नभएका अस्थायी साधनहरू प्रहरीले बरामद गरेको छ भने पीडित तीन जना किशोरीलाई त्यहाँबाट उद्धार गरेर सुरक्षित आवास गृहमा राखिएको एसपी मिश्रले बताए ।
पक्राउ परेका सञ्चालकद्वयलाई अदालतबाट ६ दिनको म्याद थप गर्दै प्रहरी वृत्त सातदोवाटोमा राखेर अनुसन्धान भइरहेको छ ।