राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्। रास्वपा मधेश प्रदेश कार्यालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार लामिछाने आफ्नी धर्मपत्नी निकिता पौडेलसहित कात्तिक २८ गते शनिबार जनकपुर पुग्नेछन्।
लामिछानेको जनकपुर भ्रमण तीन दिनको हुनेछ। यस क्रममा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रियादेखि धार्मिक स्थलहरूको दर्शन र छठ पर्वका विभिन्न अनुष्ठानमा सहभागितासम्मका कार्यक्रम तय गरिएका छन्।
कार्यक्रमअनुसार कात्तिक २८ गते दिउँसो १२:१५ बजे लामिछानेको स्वागतका लागि जनकपुर विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ता उपस्थित हुनेछन्। दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसपछि दिउँसो २ बजेदेखि ४ बजेसम्म सोही स्थानको अर्को सभाहलमा पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया हुनेछ। साँझ ५ बजे छठ पर्वको खरना पूजा तथा अन्य विधिवत् तयारीका लागि उनी निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्नेछन्।
कात्तिक २९ गते आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म लामिछानेले मधेश प्रदेशका विभिन्न ऐतिहासिक तथा धार्मिक महत्वका मठमन्दिरहरूको दर्शन र धार्मिक पोखरीहरूको अवलोकन गर्ने कार्यक्रम छ। यस क्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर (मुचियापट्टी), मठिहानीस्थित लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिर, रामजानकी मन्दिर (मुजेलिया) र धनुषाधाम मन्दिर पुग्ने कार्यक्रम तय गरिएको छ।
सोही दिन दिउँसो ३ बजे जनकपुरधामस्थित पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा उनी सहभागी हुनेछन्।
भ्रमणको अन्तिम दिन कात्तिक ३० गते सोमबार बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको विधि तथा अनुष्ठानमा सहभागी हुने कार्यक्रम छ। त्यसपछि दिउँसो जनकपुर विमानस्थलबाट बिदाइ तथा प्रस्थान गर्ने रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ।