– नकुल चाैलागाईं।
नेपालको राजनीतिक इतिहासलाई फर्केर हेर्दा एउटा प्रश्न बारम्बार उठ्छ-‘हामीले अपेक्षा गरेका राजनीतिक परिवर्तनहरू किन अपेक्षित परिणाम दिन सकेनन्? किन पटक–पटक आशा गरिएका नेतृत्वहरू आलोचनाको केन्द्रमा पुगे? किन जनताले विश्वास गरेका दल र व्यक्तिहरू समयक्रममा विवादित बन्दै गए?’
यसका अनेक कारणहरू हुन सक्छन्। तर एउटा महत्वपूर्ण कारण हाम्रो नागरिक व्यवहारमा पनि लुकेको छ। हामीले धेरैपटक व्यक्ति, दल वा विचारप्रति यति धेरै मोह राख्यौँ कि उनीहरूका गुण मात्र देख्यौँ, दोष देख्न चाहेनौँ। समर्थन गर्ने नाममा प्रश्न गर्न छोड्यौँ। आलोचना गर्ने नाममा राम्रो काम देख्न छोड्यौँ। परिणामतः हामी नागरिकभन्दा समर्थक बढी बन्यौँ।
आज नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको छ। नयाँ अनुहारहरू आएका छन्। नयाँ आशाहरू जन्मिएका छन्। यो सकारात्मक कुरा हो। लोकतन्त्रमा नयाँ विकल्प आउनु स्वाभाविक र आवश्यक पनि हो। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ; के हामी फेरि पुरानै गल्ती दोहोर्याउँदै त छैनौँ?
हिजो पुराना दलहरूको सन्दर्भमा जसरी हामीले उनीहरूका कमजोरीहरूलाई बेवास्ता गर्यौँ, आज नयाँ शक्तिहरूको सन्दर्भमा पनि त्यही व्यवहार गरिरहेका त छैनौँ? आखिर पुरानो वा नयाँ जसले लगाए पनि कोट त सुल्टै लगाउनुपर्ने हो! गलत कुरा गलत नै हुन्छ। सही कुरा सही नै हुन्छ। व्यक्ति, दल वा समूह परिवर्तन हुँदैमा सही र गलतको मापदण्ड परिवर्तन हुनु हुँदैन।
लोकतन्त्रको मूल आधार नै आलोचनात्मक चेतना हो। लोकतन्त्रमा नागरिकको भूमिका ताली बजाउने मात्र होइन, प्रश्न गर्ने पनि हो। समर्थन गर्ने मात्र होइन, खबरदारी गर्ने पनि हो। कुनै पनि व्यक्ति, प्रक्रिया, घटना वा निर्णयलाई हेर्दा त्यसका गुण र दोष दुवै पक्षलाई हेर्न सक्नुपर्छ। एउटालाई मात्र देख्ने बानीले सत्यलाई अधुरो बनाउँछ है!!
हामीमध्ये धेरैलाई आफूले समर्थन गरेको व्यक्ति वा दलको आलोचना सुन्न गाह्रो लाग्छ। आलोचना भयो भने त्यसलाई व्यक्तिगत आक्रमण सम्झने प्रवृत्ति बढ्दो छ। सामाजिक सञ्जालमा हेर्दा यो प्रवृत्ति अझ स्पष्ट देखिन्छ। कसैले आफूले समर्थन गरेको नेता वा दलको आलोचना गर्यो भने तुरुन्त विरोधीको कित्तामा राखिन्छ। कसैले राम्रो कामको प्रशंसा गर्यो भने समर्थकको बिल्ला भिराइन्छ। अंश मुद्दा लडेजस्ताे सामाजिक सञ्जालमा किन लडेकाे हामी?
वास्तवमा लोकतान्त्रिक समाजमा यस्तो हुनु हुँदैन।
कसैको समर्थक हुनुको अर्थ उसले गरेका सबै कामको अन्धसमर्थन गर्नु होइन। उसले राम्रो काम गरे समर्थन गर्नुपर्छ। नराम्रो काम गरे आलोचना गर्नुपर्छ। यही नै नागरिक चेतनाको परिचय हो। यही नै गुण र दोष छुट्याउने सही तरिका हो। सबैकाे एउटै विचारधारा हुँदैन तर मानवता पनि विचारभन्दा धेरै पर हुन्न। हामीसँग विचार छ किनकि हामी मानब हाैं।
हामीलाई थाहै छ कि चमेरो दरबार पुगे पनि उल्टै झुन्डिन्छ। वातावरण परिवर्तन हुँदैमा उसको स्वभाव परिवर्तन हुँदैन। तर हामी मानिस हौँ,हामीसँग विवेक छ। सोच्ने क्षमता छ, तर्क गर्ने क्षमता छ। त्यसैले हामीले व्यक्ति वा समूहको पछि आँखा चिम्लेर लाग्ने होइन, विवेक प्रयोग गर्ने हो।
राजनीतिमा समस्या त्यतिबेला सुरु हुन्छ जब व्यक्ति विचारभन्दा ठूलो बन्न थाल्छ,जब नेता संस्थाभन्दा माथि पुग्छ। जब आलोचना असह्य बन्छ,जब प्रश्नलाई शत्रुता ठानिन्छ!!त्यतिबेला लोकतान्त्रिक संस्कार कमजोर हुन थाल्छ।
हामीले इतिहासबाट सिक्नुपर्ने धेरै कुरा छन्। कुनै समय जनताले अत्यन्त लोकप्रिय बनाएका धेरै नेताहरू पछि आलोचनाको विषय बने। कुनै समय परिवर्तनका संवाहक मानिएका शक्तिहरू पछि निराशाको कारण बने। यसको अर्थ सबै खराब थिए भन्ने होइन। तर उनीहरूलाई प्रश्न गर्ने र मूल्याङ्कन गर्ने संस्कार कमजोर भयो भन्ने अवश्य हो।
समस्या दलमा मात्र हुँदैन। समस्या नागरिक चेतनामा पनि हुन हुन्छ। हरेक समाजले आफ्नाे चेतनास्तरकाे नेता पाऊँछ भन्छन्,नि हैन र?
हामीले कहिलेकाहीँ आफ्नो राजनीतिक रोजाइलाई आफ्नो व्यक्तिगत पहिचान बनाइदिन्छौँ। त्यसपछि आलोचना सुन्न सक्दैनौँ। समर्थनलाई विवेकभन्दा माथि राख्छौँ। अनि बिस्तारै सत्यभन्दा पक्षधरता ठूलो बन्न थाल्छ। बरु अप्रिय बाैलाैं तर सत्य बाेलाैं न!
जब हामी नराम्रोलाई पनि राम्रो भन्न थाल्छौँ, त्यही दिनदेखि हामी समर्थक मात्र होइन, अन्धसमर्थक बन्छौँ। अन्धसमर्थन लोकतन्त्रका लागि खतरनाक हुन्छ। किनभने यसले नेतृत्वलाई जवाफदेहिताबाट टाढा लैजान्छ। गल्ती सच्याउने अवसर समाप्त गर्छ। आलोचनाको स्थान प्रशंसाले भरिदिन्छ। तत्कालीन समयमा दरबार नजिकका आसेपासेले ज्ञानेन्द्र शाहकाे कान फुकेजस्ताे हामी कसैकाे कान नफुकाैं; ‘सत्य,न्याय र शुसासन’ राेजाैं/खाेजाैं।
झोला बोक्नु एउटा कुरा हो, तर ठूलो बोरा बोकेर विवेक नै बिर्सनु अर्को कुरा हो है!
राजनीतिक दलहरूको मात्र होइन, हामी नागरिकहरूको पनि जिम्मेवारी हुन्छ। लोकतन्त्रमा नेता र नागरिक एकअर्काका पूरक हुन्। नागरिक सचेत भए नेतृत्व पनि जिम्मेवार बन्छ। नागरिक मौन भए नेतृत्व पनि बेलगाम बन्न सक्छ।
त्यसैले हामीले कसैलाई देवत्वकरण गर्नु हुँदैन। कुनै पनि व्यक्ति पूर्ण हुँदैन। कुनै पनि दल पूर्ण हुँदैन। कुनै पनि विचार पूर्ण हुँदैन। सबैमा कमजोरी र सम्भावना दुवै हुन्छन्।
यदि कुनै नेता राम्रो काम गरिरहेको छ भने त्यसको प्रशंसा गर्न हिच्किचाउनु हुँदैन। यदि त्यही नेताले गल्ती गरिरहेको छ भने आलोचना गर्न पनि डराउनु हुँदैन। लोकतन्त्रमा प्रशंसा र आलोचना दुवै आवश्यक हुन्छन्। प्रशंसाले राम्रो कामलाई प्रोत्साहन गर्छ भने आलोचनाले गल्ती सच्याउने अवसर पनि दिन्छ।
हामीले “मेरो मान्छे” र “तेरो मान्छे” को मानसिकताबाट पनि माथि उठ्नुपर्छ। राष्ट्र निर्माणको आधार व्यक्तिगत सम्बन्ध होइन, सार्वजनिक हित हो। हामीलाई चाहिएकाे आवश्यक सुशासन हो, कुनै व्यक्ति विशेषको महिमामण्डन होइन। हामीले खाेजेकाे आवश्यक पारदर्शिता हो, कुनै समूहको अन्धरक्षा होइन।
नाङ्गो बादशाहलाई देखेर पनि कपडा लगाएको छ भन्नु सत्यप्रतिको अन्याय हो। त्यसैगरी खरानी घसेर बसेको भरमा कसैलाई ‘सन्त’ घोषणा गर्नु पनि उचित होइन। मूल्याङ्कन बाहिरी आवरणका आधारमा होइन, व्यवहार र परिणामका आधारमा हुनुपर्छ।
नेपालमा राजनीतिक बहस प्रायः व्यक्ति केन्द्रित हुने गरेको छ। तर अब बहसका विषय बदलिनुपर्छ। हामीले व्यक्तिभन्दा नीति, नाराभन्दा परिणाम, भावनाभन्दा तथ्य र प्रचारभन्दा वास्तविक उपलब्धिलाई महत्व दिनुपर्छ। यहिनै लाेकतन्त्र हाे।
आज देशका सामु अनेक चुनौती छन्। कानूनी राज्यको सुदृढीकरण, सुशासन, पारदर्शिता, जवाफदेहिता, समावेशिता, अवसरको समान पहुँच, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, राष्ट्रिय सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय अखण्डताको सुदृढीकरण लगायतका विषयहरू हाम्रो प्राथमिकतामा पर्नुपर्छ।
तर दुर्भाग्यवश, हामी धेरैजसो समय व्यक्ति र दलको पक्ष-विपक्षमा अल्झिन्छौँ! जसका कारण मूल मुद्दाहरू ओझेलमा पर्छन्। लोकतन्त्रको सफलता नेता कति लोकप्रिय छ भन्ने कुराले निर्धारण गर्दैन; नागरिक कति सचेत छन् भन्ने कुराले निर्धारण गर्छ।
सचेत नागरिकले प्रश्न गर्छ। सचेत नागरिकले प्रमाण खोज्छ। सचेत नागरिकले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्छ। उसले आफ्नो विचार परिवर्तन गर्न लाज मान्दैन। उसले सत्यलाई दलभन्दा माथि राख्छ।
हामीले आफूलाई सोध्नुपर्ने समय आएको छ-के हामी नागरिक हौँ कि केवल समर्थक? के हामी तथ्य हेर्छौँ कि केवल पक्ष हेर्छौँ? के हामी परिणाम मूल्याङ्कन गर्छौँ कि केवल नारामा विश्वास गर्छौँ?
यदि हामीले लोकतन्त्रलाई बलियो बनाउन चाहन्छौँ भने हामीले सर्वप्रथम नागरिक बन्न सिक्नुपर्छ। नागरिक हुनु भनेको अधिकार माग्नु मात्र होइन, जिम्मेवारी पनि वहन गर्नु हो। नागरिक हुनु भनेको प्रश्न गर्नु हो। नागरिक हुनु भनेको विवेक प्रयोग गर्नु हो। नागरिक हुनु भनेको सत्यको पक्षमा उभिनु हो।
राजनीति मात्र होइन, प्रशासन, सामाजिक क्षेत्र र जीवनका हरेक क्षेत्रमा यही सिद्धान्त लागू हुन्छ। जसले राम्रो काम गर्छ उसको समर्थन गरौँ। जसले नराम्रो काम गर्छ उसको विरोध गरौँ। व्यक्ति, पार्टी, जात, लिङ्ग, क्षेत्र वा सम्बन्धभन्दा माथि उठेर गुण र दोषका आधारमा निर्णय गर्ने बानी बसालौँ।
किनभने अन्ततः लोकतन्त्रलाई बलियो बनाउने नेता होइनन्, सचेत नागरिक हुन्।
त्यसैले आउनुस्, अन्धसमर्थक होइन, जिम्मेवार नागरिक बनौँ। दलभन्दा माथि देशलाई राखौँ। व्यक्तिभन्दा माथि सिद्धान्तलाई राखौँ। नाराभन्दा माथि परिणामलाई राखौँ। अनि मात्र हामीले सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्धिको सपना साकार पार्न सक्छौँ।
लोकतन्त्रलाई ताली बजाउने समर्थकहरू होइन, सत्य बोल्न सक्ने नागरिकहरू चाहिन्छन्। प्रश्न गर्ने साहस भएका नागरिकहरू चाहिन्छन्। विवेक प्रयोग गर्न सक्ने नागरिकहरू चाहिन्छन्।
लोकतन्त्रलाई ताली बजाउने समर्थकहरू होइन, सत्य बोल्न सक्ने नागरिकहरू चाहिन्छन्। प्रश्न गर्ने साहस भएका नागरिकहरू चाहिन्छन्। विवेक प्रयोग गर्न सक्ने नागरिकहरू चाहिन्छन्।
नागरिक त बनौँ।
तर, नागरिक बन्नु भनेको केवल भाषणमा सजिलै भन्न सकिने कुरा होइन।यो निरन्तर अभ्यास हो; यो हरेक दिन आफूलाई सुधार गर्ने प्रक्रिया हो। हामीले बिहान उठेदेखि राति सुत्दासम्म गर्ने स-साना निर्णयहरूले नै हाम्रो नागरिक चेतना कस्तो छ भन्ने निर्धारण गर्छ। हामीले कुन समाचारलाई विश्वास गर्छौँ, कुन कुरामा प्रतिक्रिया दिन्छौँ, कुन विषयमा मौन बस्छौँ, यी सबैले हाम्रो नागरिक चरित्र निर्माण गर्छ।
आजको डिजिटल युगमा त यो झनै जटिल बनेको छ। सामाजिक सञ्जालले हामीलाई सूचना दिएको छ, तर साथसाथै भ्रम पनि दिएको छ। हामी धेरैजसो समय तथ्यभन्दा भावनामा प्रतिक्रिया दिन थालेका छौँ। कुनै पोस्ट हेरेपछि त्यसको सत्यता जाँच्नुभन्दा पहिले नै हामी कमेन्ट गर्न हतारिन्छौँ। हामीलाई सही हुनुभन्दा पहिले आफ्नो पक्ष जिताउनुपर्छ भन्ने मानसिकता बलियो हुँदै गएको छ। यहीँबाट नागरिक चेतनाको क्षय सुरु हुन्छ। हामी ‘Keyboard Warrior’ मात्र बनिरहेका त छैनाैं?
नागरिक बन्नु भनेको आफ्नो सूचना स्रोतप्रति सचेत हुनु पनि हो। हामीले पढ्ने, सुन्ने र शेयर गर्ने प्रत्येक सामग्रीले समाजमा प्रभाव पार्छ भन्ने बुझ्न जरुरी छ। गलत सूचना फैलाउनु पनि उत्तिकै गैरजिम्मेवार काम हो जति गलत निर्णयलाई मौन समर्थन गर्नु हो। जब समाजमा गलत सूचना हाबी हुन्छ, तब सत्य कमजोर हुन्छ, र सत्य कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुन्छ।
त्यसैले नागरिकले आफूलाई निरन्तर प्रश्न गर्नुपर्छ;“के म सही सूचना लिइरहेको छु?”, “के म भावनामा बगेर निर्णय गरिरहेको छु?”, “के मेरो समर्थन तर्कमा आधारित छ वा केवल सम्बन्धमा?” यी प्रश्नहरूले हामीलाई परिपक्व बनाउँछन्।
नागरिक चेतनाको अर्को महत्वपूर्ण पक्ष हो-धैर्य। परिवर्तन एकै रातमा हुँदैन। हामीले अपेक्षा गरेको सुशासन, विकास र पारदर्शिता क्रमिक प्रक्रिया हो। तर हामी धेरैजसो तत्काल परिणाम खोज्छौँ। कुनै पनि सरकार वा नेतृत्व आएको केही महिनामै सबै समस्या समाधान हुनुपर्छ भन्ने अपेक्षा राख्छौँ। यो अव्यवहारिक सोच हो। यस्तो सोचले निराशा जन्माउँछ, र निराशाबाट फेरि अन्धविश्वास वा अन्धविरोध जन्मिन्छ। त्यसपछि चाेर आैंला हामीतिरै साेझिन्छ!
नागरिक बन्ने अभ्यासले हामीलाई धैर्यवान बनाउँछ। हामी बुझ्न थाल्छौँ कि नीति निर्माण, कार्यान्वयन र परिणामबीच समय लाग्छ। तर यसको अर्थ कमजोरीलाई स्वीकार गर्नु होइन। यसको अर्थ हो समय दिनु तर साथसाथै निगरानी पनि गर्नु।
सचेत नागरिकले सरकारलाई समय दिन्छ, तर छुट दिँदैन। उसले विश्वास गर्छ, तर आँखा बन्द गर्दैन। उसले समर्थन गर्छ, तर प्रश्न गर्न छोड्दैन।
यही सन्तुलन नै लोकतन्त्रको आत्मा हो।
हामीले हाम्रो शिक्षालाई पनि नागरिक चेतनासँग जोड्न आवश्यक छ। केवल डिग्री प्राप्त गर्नु नागरिक बन्नु होइन। धेरै पढेको मान्छे पनि अन्धसमर्थक हुन सक्छ, यदि उसले आलोचनात्मक सोच विकास गरेको छैन भने। शिक्षा भनेको प्रश्न गर्ने क्षमता हो, स्वीकार गर्ने अन्धविश्वास होइन। जबसम्म हाम्रो शिक्षाले प्रश्न गर्न सिकाउँदैन, तबसम्म हामी उत्पादनशील नागरिक होइन, अनुयायी मात्र उत्पादन गरिरहेका हुन्छौँ।
त्यसैगरी, हाम्रो सामाजिक संरचनाले पनि कहिलेकाहीँ नागरिक चेतनालाई कमजोर बनाउँछ। हामी धेरैजसो समूह, जात, क्षेत्र वा सम्बन्धका आधारमा निर्णय गर्छौँ। “हाम्रो मान्छे” भन्ने मानसिकताले निष्पक्ष मूल्याङ्कनलाई कमजोर बनाउँछ। जब गलत काम गर्ने “हाम्रो मान्छे” सुरक्षित हुन्छ, तब न्याय प्रणाली नै कमजोर हुन्छ। र जब न्याय कमजोर हुन्छ, तब असन्तोष बढ्छ।
नागरिक बन्नु भनेको यी सबै संकीर्ण सीमाभन्दा माथि उठ्नु हो। यो सजिलो छैन, किनभने समाजले हामीलाई समूहगत सोचतर्फ धकेल्छ। तर लोकतन्त्रले हामीबाट व्यक्तिगत विवेकको अपेक्षा गर्छ, समूहगत अन्धसमर्थनको होइन।
हामीले बुझ्नुपर्छ कि मुलुक कुनै एक व्यक्तिले बनाउँदैन। मुलुक निर्माण सामूहिक प्रयास हो। सरकार, विपक्ष, नागरिक समाज, सञ्चार माध्यम, वकिल, नागरिक…आदि सबैको भूमिका हुन्छ। तर सबैभन्दा महत्वपूर्ण भूमिका नागरिकको हुन्छ, किनभने नागरिक नै अन्तिम निर्णायक शक्ति हो। जुन पेशाकाे भएपनि सबैभन्दा पहिले हामी सबै नागरिक हाैं।
मतदान मात्र नागरिकको पूर्ण अभ्यास होइन। मतदानपछि पनि नागरिक सक्रिय रहनुपर्छ। चुनाव सकिएपछि मौन बस्ने नागरिक होइन, निरन्तर निगरानी गर्ने नागरिक लोकतन्त्रको मेरुदण्ड हो। हरेक नीति, निर्णय, सार्वजनिक खर्च नागरिकको प्रश्नको घेरामा रहनुपर्छ।
आज हामीले धेरैपटक सुनेका छौँ—“देश बिग्रियो”, “व्यवस्था खराब भयो”, “नेताहरू असफल भए।” तर हामीले कमै मात्र सुन्छौँ—“हामी नागरिक कति सचेत छौँ?” दोष केवल माथि मात्र होइन, तल पनि हुन्छ। नेतृत्वको असफलता मात्र होइन, नागरिक उदासीनता पनि उत्तिकै जिम्मेवार हुन्छ!
यदि नागरिक मौन छ भने गलत निर्णयहरू सामान्य बन्न थाल्छन्। यदि नागरिक सक्रिय छ भने गलत निर्णयहरू टिक्न सक्दैनन्। यही कारणले लोकतन्त्रलाई सतर्क नागरिक आवश्यक पर्छ, केवल भावनात्मक समर्थक होइन।
अब समय आएको छ कि हामीले आफ्नो राजनीतिक व्यवहार पुनर्विचार गरौँ। हामीले आफूलाई सोधौँ; के हामी विचारका आधारमा निर्णय गर्छौँ कि व्यक्तिका आधारमा? के हामी परिणाम हेर्छौँ कि केवल वाचा? के हामी प्रश्न गर्छौँ कि केवल प्रचारमा रमाउँछौँ?
नागरिक बन्नु भनेको कहिलेकाहीँ आफूले विश्वास गरेको कुरा गलत ठहरिएपछि त्यसलाई स्वीकार गर्न सक्नु पनि हो। यो सबैभन्दा कठिन तर सबैभन्दा महत्वपूर्ण अभ्यास हो। गलत भएको स्वीकार गर्न सक्ने नागरिक नै परिपक्व नागरिक हो। तपाईं कता पर्नुभयाे?
हामीले समाजलाई पनि सहिष्णु बनाउनु पर्छ। फरक विचारलाई शत्रु होइन, दृष्टिकोणको विविधता भनेर स्वीकार गर्न सिक्नुपर्छ। आलोचना सुन्न सक्ने क्षमता विकसित गर्नुपर्छ। किनभने आलोचना अपमान होइन, सुधारको अवसर पनि हो।
यदि हामीले यी सबै अभ्यासलाई आत्मसात् गर्न सक्यौँ भने मात्र हामीले साँचो अर्थमा लोकतन्त्रलाई मजबुत बनाउन सक्छौँ। विकास केवल सडक र भवनले मापन हुँदैन, विकास नागरिक चेतनाले मापन हुन्छ।
अन्ततः प्रश्न फेरि त्यहीँ आउँछ—देश बदल्ने जिम्मेवारी कसको हो? नेता मात्रको? प्रणाली मात्रको?
होइन!! नागरिकको पनि हो। र सायद सबैभन्दा बढी नागरिककै हो।
त्यसैले अब समय आएको छ,हामीले समर्थनलाई विवेकसँग बदलौँ। भावनालाई तथ्यसँग बदलौँ। अन्धविश्वासलाई प्रश्नसँग बदलौँ। र सबैभन्दा महत्वपूर्ण कुरा त अन्धसमर्थनलाई सचेत नागरिकसँग बदलौँ।
किनभने अन्ततः लोकतन्त्र त्यतिबेला मात्र बलियो हुन्छ, जब नागरिकले आफ्नो जिम्मेवारी बुझ्छ। र जब नागरिक जिम्मेवार हुन्छ, तब नेतृत्व पनि स्वतः जिम्मेवार बन्न बाध्य हुन्छ।
त्यसैले फेरि पनि एउटै कुरा दोहोर्याऔँ है:-
नागरिक त बनौँ!!
नागरिक त बनौँ।