काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनले बिहीबार नै नयाँदिल्लीस्थित नेपाली राजदूतावास पुगेर पदभारसमेत ग्रहण गरेका छन् ।
भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् । समारोहमा नेपालका राजदूत पाण्डेसँगै ग्रीसका राजदूत जर्जियोस पेटमेजाकिस र स्पेनका राजदूत अल्फ्रेडो मार्टिनेज सेरानोले पनि प्रमाणपत्र बुझाएका थिए । भारतीय राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा पाण्डेलाई नेपालका राजदूतका रूपमा उल्लेख गर्दै उनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको जनाएको छ ।
पाण्डे गत मंगलबार नयाँदिल्ली पुगेका थिए । त्यसको करिब ४८ घण्टाभित्रै उनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएर औपचारिक रूपमा कूटनीतिक जिम्मेवारी सम्हालेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर १ गते मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेका थिए । सोही दिन उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, ऊर्जा, पूर्वाधार, पारवहन तथा जनस्तरमा बहुआयामिक सम्बन्ध रहेकाले ती क्षेत्रमा सहकार्य विस्तार र उच्चस्तरीय संवादलाई निरन्तरता दिनु उनको प्रमुख जिम्मेवारी हुनेछ ।