काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट’मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै नेपालमा लगानीका सम्भावनाबारे जानकारी गराएका हुन् ।
ढकालको निजी सचिवालयका अनुसार भेटका क्रममा नेपाल–युएई सम्बन्ध, द्विपक्षीय व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो ।
सो अवसरमा उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डेटा सेन्टरलगायतका क्षेत्रमा लगानी गर्न युएईका लगानीकर्तालाई आग्रह गरेका थिए ।
त्यसैगरी, फ्लाई दुबईले युएईबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै ढकालले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए ।