काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
दसैँ बिदाका कारण पूर्वनिर्धारित समयमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि नयाँ मिति तय गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
महाशाखाले तोकिएको मितिमा नजिकैको स्वास्थ्य संस्था वा निर्धारित वितरण केन्द्रमा बालबालिकालाई लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।
बालबालिकाको स्वास्थ्य सुरक्षा, पोषण अवस्था सुधार तथा जुकाको सङ्क्रमणबाट बचाउन अभियान महत्त्वपूर्ण भएकाले निर्धारित समयमा सहभागी भई आफ्ना बालबालिकालाई औषधि सेवन गराउन महाशाखाले अनुरोध गरेको छ।