काठमाडौँ । नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका समस्या र सवाललाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख एजेन्डा बनाउन कोप–३१ मा विशेष पहल गरेको छ ।
पर्वतीय क्षेत्रमा बढ्दो जलवायु जोखिम, भोटेकोशी बाढीबाट भएको क्षति, जलवायु न्याय तथा अनुकूलनका विषयलाई नेपालले सम्मेलनमा प्राथमिकताका साथ उठाएको हो ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बिहीबार टर्किएमा आयोजित कोप–३१ अन्तर्गतको नेपाल पेभिलियन समापन कार्यक्रममा नेपालको पर्वतीय एजेन्डा देशको मात्रै सरोकार नभई विश्वव्यापी जलवायु सङ्कटसँग जोडिएको साझा मुद्दा भएको बताइन् ।
उनले नेपाल हिमालसम्बन्धी स्पष्ट एजेन्डासहित अन्ताल्या आएको उल्लेख गर्दै नेपाल पेभिलियन पर्वतीय क्षेत्रका समस्या, पीडा र सवाल अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने साझा मञ्च बनेको बताइन् ।
मन्त्री चौधरीका अनुसार कोप प्रक्रियामा आफ्नो सहभागिता मन्त्रीका रूपमा मात्र नभई पर्वतीय मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु बहसमा स्थापित गर्न चाहने लाखौँ नेपालीको प्रतिनिधिका रूपमा रहेको थियो । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको आवाज अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउनु पनि आफ्नो दायित्व भएको उनले उल्लेख गरिन् ।
उनले भोटेकोशी बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार र सम्बन्धित देशप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट समवेदना प्रकट गरिन् ।
नेपालमा पर्यटक, कामदार, विज्ञ, इन्जिनियर, लगानीकर्ता तथा पूर्वाधार निर्माणका साझेदारका रूपमा आएका विदेशी नागरिकको मृत्यु दुवै देशका लागि साझा क्षति भएको उनको भनाइ थियो । भविष्यमा यस्ता विपद् रोकथामका लागि आवश्यक काम गरेर मृतकको स्मृतिलाई सम्मान गर्नुपर्ने उनले बताइन् ।
भोटेकोशी बाढी नेपालका लागि मात्रै नभई विश्व समुदायका लागि पनि गम्भीर चेतावनी भएको उल्लेख गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको यथार्थ भएको बताइन् । पर्वतीय क्षेत्रमा देखिने जलवायुजन्य जोखिमले हिमाली क्षेत्रदेखि तल्लो तटीय क्षेत्रसम्मका समुदाय प्रभावित हुने उनको भनाइ थियो ।
पर्वतीय मुद्दामा अन्तर्राष्ट्रिय पैरवी
कोप–३१ का क्रममा नेपालको पर्वतीय एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन विभिन्न देशका मन्त्री, जलवायु वित्तसम्बन्धी संयन्त्रका प्रमुख, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग द्विपक्षीय छलफल गरिएको मन्त्री चौधरीले जानकारी दिइन् ।
उनले जलवायु वार्तामा सहभागी नेपाली मन्त्री, सांसद, विज्ञ, सञ्चारकर्मी तथा विभिन्न प्रतिनिधिमण्डलका सदस्यले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् । कठिन विषयमा सहमति जुटाउन लामो समयसम्म निरन्तर प्रयास गर्नुपर्ने उल्लेख गर्दै उनले प्रतिनिधिहरूको धैर्य, लगनशीलता र प्रतिबद्धताले बहुपक्षीय वार्तालाई अघि बढाउन सहयोग पुगेको बताइन् ।
मन्त्री चौधरीले टर्किए सरकार, कोप–३१ अध्यक्षता, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज, युवा, निजी क्षेत्र तथा नेपाल पेभिलियन व्यवस्थापनमा संलग्न टोलीलाई धन्यवाद दिइन् ।
जलवायु सङ्कटको सामना कुनै पनि समुदायले एक्लै गर्न नपर्ने साझा प्रतिबद्धतासहित सम्मेलनबाट फर्कन उनले सबै प्रतिनिधिलाई आग्रह गरिन् ।
नेपाल पेभिलियनमा ४७ कार्यक्रम सम्पन्न
कोप–३१ अन्तर्गत नोभेम्बर ९ देखि १९ सम्म सञ्चालित नेपाल पेभिलियनमा जलवायु परिवर्तनसम्बन्धी ४७ वटा कार्यक्रम आयोजना भएका छन् ।
उपलब्ध विवरणअनुसार ती कार्यक्रममा २८८ जना वक्ताले सहभागिता जनाएका थिए । सहभागी वक्तामध्ये १७१ पुरुष र ११७ महिला थिए । राष्ट्रियताका आधारमा १३३ जना नेपाली र १५५ जना विदेशी संस्थामा आबद्ध वक्ता सहभागी भएका थिए ।
नेपाल पेभिलियनमा नेपाली विज्ञ तथा सरोकारवालासँगै विभिन्न देशका प्रतिनिधि, अनुसन्धानकर्ता र अन्तर्राष्ट्रिय संस्थाका विज्ञहरूले जलवायु परिवर्तनका विविध विषयमा छलफल गरेका थिए ।
पर्यावरण मन्त्रालयको नेतृत्वमा स्थापना गरिएको पेभिलियनमा सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, अनुसन्धान संस्था र विकास साझेदारहरूले विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रम आयोजना गर्ने संस्थामा पर्यावरण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, वन विभाग, जल तथा मौसम विज्ञान विभाग, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानलगायत रहेका थिए ।
त्यस्तै, अन्तर्राष्ट्रिय कृषि अनुसन्धान परामर्श समूह, प्राक्टिकल एक्सन, हेफर इन्टरनेसनल, अक्सफाम, सेभ द चिल्ड्रेन, क्रिएसन, एनजीओ फेडेरेसन अफ नेपाल र प्राकृति रिसोर्सेस सेन्टरलगायत संस्थाले पनि कार्यक्रम आयोजना गरेका थिए ।
जलवायु वित्तदेखि भोटेकोशी विपद्सम्मका विषयमा बहस
नेपाल पेभिलियनमा जलवायु उत्थानशील खाद्य प्रणाली, स्वास्थ्य, ऊर्जा पूर्वाधार, पूर्वसूचना प्रणाली, जीवाश्म इन्धनबाट न्यायोचित रूपान्तरण, शून्य फोहर, हिमाली क्षेत्रको संरक्षण, हरित हाइड्रोजन, हरित युरिया, कार्बन बजार तथा जलवायु वित्तका विषयमा छलफल भएका थिए ।
यसैगरी, जलवायु परिवर्तनका कारण हुने मानव आवागमन, हिमाली क्षेत्रमा विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशील शिक्षा, महिलाले भोग्नुपरेका जलवायुजन्य क्षति तथा आर्थिक र गैरआर्थिक हानि–नोक्सानीका विषयले पनि पेभिलियनका कार्यक्रममा प्राथमिकता पाएका थिए ।