कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा जिल्लाकै पहिलो प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त स्कुल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको करिब तीन दशकपछि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले गाउँपालिकासँगको सहकार्यमा रिभानको मैँचेडाँडामा प्रशिक्षण केन्द्र स्थापना गरेको हो ।
प्याराग्लाइडिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीले करिब एक करोड ५० लाख रुपैयाँ लगानीमा स्कुल स्थापना गरेका हुन् । प्रशिक्षण केन्द्रको थप पूर्वाधार निर्माण गर्न बाँकी रहेकाले लगानी बढ्ने सञ्चालकले जनाएका छन् ।
स्कुलका सञ्चालक विजय गौतमका अनुसार मैँचेडाँडाबाट उडान गरी मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । समुद्री सतहबाट एक हजार ६८० मिटर उचाइमा रहेको मैँचेडाँडा प्याराग्लाइडिङका लागि उपयुक्त स्थान मानिएको छ ।
यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाका साथै माछापुच्छ्रे गाउँपालिकाका लाहाचोक, ल्वाङ, अस्तामलगायत पर्यटकीय क्षेत्र र पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
“हिमालको सुन्दर दृश्यसँगै उडानको अनुभव लिन सकिने भएकाले रिभानलाई प्रशिक्षण केन्द्रका रूपमा छनोट गरेका हौँ । लामो प्रक्रियापछि स्कुल सञ्चालन गर्न सफल भएका छौँ”, गौतमले भने, “यसले दक्ष पाइलट उत्पादनमा सहयोग पुर्याउनुका साथै भविष्यमा यहाँबाट व्यावसायिक उडान सञ्चालन गर्ने सम्भावनासमेत बढाउनेछ ।”
प्रशिक्षण केन्द्रले प्रारम्भिक १५ दिने तालिमसँगै इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण सञ्चालन गर्नेछ । एक सत्रमा छ जनालाई तालिम दिने व्यवस्था मिलाइएको गौतमले जानकारी दिए ।
हाल पोखरामा ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । चार सय जनाले प्याराग्लाइडिङ पाइलटको लाइसेन्स लिएकामा करिब २५० जना विभिन्न कम्पनीमा कार्यरत रहेको नेपाल हवाई खेलकुद संस्था (ना)का पूर्वअध्यक्ष कृष्ण भण्डारीले बताए । पोखरामा हाल सराङकोटबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ ।
भण्डारीले पोखरामा प्रशिक्षण स्कुल स्थापना हुनु प्याराग्लाइडिङ क्षेत्रको दीर्घकालीन विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार यसले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुका साथै विदेशी पर्यटकलाई समेत प्रशिक्षणका लागि आकर्षित गर्न सक्नेछ ।
“प्याराग्लाइडिङ व्यवसायलाई दिगो बनाउन हरेक वर्ष दक्ष पाइलट उत्पादन गर्न आवश्यक छ । पोखरामा यसअघि औपचारिक प्रशिक्षण केन्द्र थिएनन् । अब स्थानीयस्तरमै जनशक्ति उत्पादन गर्न सहज हुनेछ”, उनले भने ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सराङकोटपछि रिभान पनि पोखराको अर्को आकर्षक प्याराग्लाइडिङ गन्तव्य बन्न सक्ने बताए । प्याराग्लाइडिङबाट पोखराको पर्यटन क्षेत्रमा पुगेको लाभ माछापुच्छ्रे गाउँपालिकासम्म विस्तार हुने उनको विश्वास छ ।
प्रदेश सरकारले यस क्षेत्रमा पूर्वाधार निर्माणमा लगानी गरिरहेको उल्लेख गर्दै बरालले आगामी दिनमा पनि प्याराग्लाइडिङको विकास र विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्रशिक्षण केन्द्र सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे । विगतमा पदयात्राका लागि परिचित रिभान पछिल्लो समय ओझेलमा परेको उल्लेख गर्दै उनले क्षेत्रको विकासमा गाउँपालिकाले प्राथमिकता दिने बताए ।
गाउँपालिका–५ का वडाध्यक्ष नारायण पौडेलले रिभानमा प्याराग्लाइडिङ पर्यटनको ठूलो सम्भावना रहेको बताए । प्रदेश सरकारको सहयोगमा सहिद पार्क निर्माण गरिएको जानकारी दिँदै उनले पर्यटकको बसाइ लम्ब्याउन ओदानेसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गरी खुमैसम्म जोड्नुपर्ने आवश्यकता औँल्याए ।
त्यस्तै, गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले माछापुच्छ्रे गाउँपालिकामा पदयात्रासँगै साहसिक पर्यटनको पनि पर्याप्त सम्भावना भए पनि विकासका लागि प्रदेश तथा सङ्घीय सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको बताए ।
स्थानीय समाजसेवी यामबहादुर गुरुङले प्याराग्लाइडिङ स्कुल सञ्चालनले पर्यटकको आगमन बढाउनुका साथै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । यसले रोजगारीका लागि गाउँ छाडेका स्थानीयलाई आफ्नै गाउँ फर्किएर व्यवसाय सञ्चालन गर्नसमेत प्रेरित गर्ने उनको भनाइ छ ।
“गाउँका अधिकांश मानिस बजार झरेपछि रिभान गाउँ सुनसान बनेको छ । अब गाउँमै आर्थिक सम्भावना बढ्ने भएपछि बाहिरिएका स्थानीय पनि आफ्नै थातथलो फर्किने आशा गरेका छौँ”, उनले भने ।
पोखराबाट जीपमा करिब एक घण्टाको यात्रापछि रिभानको मैँचेडाँडा पुग्न सकिन्छ । लाहाचोकको पातीखोलाबाट डाँडातर्फ उकालो लाग्नुपर्छ । प्राकृतिक सौन्दर्य र हिमाली दृश्यले भरिपूर्ण यस क्षेत्र प्याराग्लाइडिङसँगै ग्रामीण पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।