काठमाडौँ– आगामी सुख्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ।
प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म विद्युत् आयात गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो। यसका लागि भारतका अनुमतिप्राप्त विद्युत् व्यापारिक कम्पनीहरूबाट प्रतिस्पर्धात्मक दरमा प्रस्ताव माग गर्ने योजना बनाइएको छ।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार १५० मेगावाट विद्युत् चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) प्रणालीमा खरिद गर्ने योजना छ।
पछिल्ला दुई–तीन वर्षदेखि सुख्खायाममा आन्तरिक उत्पादनले विद्युत्को माग धान्न नसक्दा नेपालले भारतको इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) अन्तर्गत डे अहेड मार्केट (डीएएम) र रियल टाइम मार्केट (आरटीएम) बाट विद्युत् खरिद गर्दै आएको छ।
यस वर्ष भने भोटेकोशी नदीमा आएको हिमबाढीका कारण विद्युत् आयोजनाहरूमा थप क्षति पुगेपछि आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाको करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।
प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले २०८३ भदौ २५ गते गरेको निर्णयअनुसार आगामी जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो। समितिले आवश्यकताअनुसार भारतीय पावर एक्सचेन्जबाट थप विद्युत् खरिद गर्नुपर्ने निष्कर्षसमेत निकालेको थियो।
विशेषगरी अप्रिल र मे महिनामा विद्युत्को माग बढ्ने भएकाले त्यस समयको माग र आपूर्तिको अवस्था तथा भारतीय बजारमा उपलब्ध विद्युत्को क्षमताका आधारमा थप खरिदको निर्णय लिनुपर्ने समितिको सुझाव छ।
आगामी सुख्खायामसम्म राष्ट्रिय विद्युत् प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिएको छ। तर नदीमा पानीको बहाव घट्ने भएकाले ती आयोजनाबाट सुख्खायाममा करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान छ। यसले आन्तरिक उत्पादनबाट माग व्यवस्थापन गर्न कठिन हुने देखिएको छ।
यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि भारतका तीन कम्पनीसँग दररेट माग गरेको थियो। प्राप्त प्रस्तावमध्ये एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ दर प्रस्ताव गरेका थिए।
सबैभन्दा कम दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र (एलओआई) जारी गरिएको थियो। त्यसपछि विद्युत् खरिद सम्झौताका लागि असोज २९ गते कम्पनीलाई बोलाइएको थियो।
तर कम्पनीले असोज ३० गते पत्र पठाउँदै प्रस्तावित दरमा विद्युत् बिक्री गर्न नसक्ने जानकारी गराएको थियो। भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यवृद्धि, विश्वव्यापी मौसम परिवर्तन, एल निनो प्रभाव र भारतभित्रै बढ्दो विद्युत् मागलाई कारण देखाउँदै कम्पनीले पुरानो प्रस्ताव पुनरावलोकन गर्नुपर्ने जनाएको थियो।
यसैबीच, भारतीय विद्युत् बजारको डे अहेड मार्केटमा २०८३ असोज महिनाको औसत बजार समायोजन मूल्य (एमसीपी) प्रतियुनिट ११ रुपैयाँ ७४ पैसा नेपाली अर्थात् ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ पुगेको छ। यसले एनटीपीसीले यसअघि प्रस्ताव गरेको दरमा विद्युत् खरिद सम्झौता हुन नसक्ने अवस्थालाई थप जटिल बनाएको छ।
पुरानो प्रस्तावअनुसार सम्झौता हुन नसकेको र आगामी सुख्खायाममा विद्युत्को माग तथा आपूर्तिबीचको अन्तर बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो।
अन्तर्राष्ट्रिय बोलपत्रमार्फत भारतीय विद्युत् व्यापारिक कम्पनीहरूबाट नयाँ प्रस्ताव माग गरी तुलनात्मक रूपमा सस्तो दरमा विद्युत् खरिद गर्ने प्राधिकरणको योजना छ।
सुख्खायाममा आन्तरिक उत्पादन घट्ने र माग बढ्ने भएकाले समयमै विद्युत् आयातको व्यवस्था मिलाउन सके आपूर्ति व्यवस्थापनमा देखिन सक्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।