बिर्तामोड (झापा), ९ भाद्र । झापाको अर्जुनधारा नगरपालिमा एक १६ बर्सिया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
अर्जुनधारा-५ घर भएकी १६ बर्सिया किशोरीमाथि शुक्रवार राती दुई स्थानमा सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण कुमार चन्दका अनुसार होटेलमा र बाख्रा हटिया लाग्ने स्थानको फलैँचामा किशोरीलाई जबरजस्ती करणी गरिएको हो ।
जबरजस्ती करणीमा संलग्न भएको अभियोगमा प्रहरीले अर्जुनधारा नगरपालिका-९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र १९ वर्षीय सुजन डाँगीलाई पक्राउ गरेको छ ।
युवतीको बयानमा भनेकी छन्, ‘अनिश, सरोज र केशवले अर्जुनधारा नगरपालिका-८ नयाँ बजारस्थित बाख्रा हटिया लाग्ने स्थानको फलैँचामा र सुनिल, सुदिप, सुजन र २० वर्षीय सञ्जीव तामाङले अर्जुनधारा नगरपालिका-७ स्थित होटेलमा जबरजस्ती करणी गरेका हुन् ।‘
करणीमा संलग्न सञ्जीव तामाङ हाल फरार छन् । उनको खोजतलास जारी रहेको बताइएको छ ।
करणी भएको होटेल लंका होटेल रिसोर्ट भएको र संलग्न सुदीप श्रेष्ठ र सुजन डाँगी सोही रिसोर्टमा कुकको काम गर्ने बताइएको छ ।
पीडित किशोरीका अनुसार सात जना युवकले रातभरि करणी गरेका हुन् । घटनापछि बिहान पिडकमध्येका सुनिल राजवंशीले पीडित किशोरीलाई मोटरसाइकलमा राखेर घर पुर्याइदिएका थिए ।
पीडित परिवारका अनुसार किशोरी शुक्रवार दिउँसो गाउँकै चिनजानेका युवकहरूसँग घुम्न निस्किएकी थिइन् ।
प्रहरीले यस घटनालाई निकै गम्भीरताका साथ लिएको डिएसपी चन्दले बताए । घटनामा संलग्न युवकहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर अनुसन्धान भइरहेको छ ।
कानुनमा के छ ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरीहरूलाई उनीहरूकै मन्जुरीमा शारीरिक सम्पर्क राखेता पनि उक्त कार्यलाई जबरजस्ती करणी मान्दै पीडितको उमेर र परिस्थिति हेरेर कैद सजाय, जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ३(घ) का अनुसार सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी किशोरीउपर जबरजस्ती करणी भएमा त्यसमा संलग्नउपर दश देखि बाह्र वर्षसम्म कैद पाँच लाख रुपैयाँ जरिवाना र उचित क्षतिपूर्तिको व्यवस्था छ तर सामूहिक जबरजस्ती करणीमा थप पाँच वर्ष कैद हुने सोही ऐनमा उल्लेख छ ।
यस घटनामा संलग्नहरू अदालतबाट दोषी ठहर भएको खण्डमा उनीहरूउपर कम्तीमा १५ देखि १७ वर्षसम्म कैद सजाय हुनेछ ।