काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती नदी सफाइ महाअभियानअन्तर्गत शनिबार ७०२औँ हप्ताको सफाइ कार्यक्रम सम्पन्न भएको छ।
गुह्येश्वरी मन्दिरअगाडि बागमती नदी र नदी किनारमा सफाइ गरिएको हो। दसैँका अवसरमा दुर्गा पूजाका लागि बनाइएका मूर्ति नदीमा विसर्जन गर्दा उत्पन्न भएको फोहर व्यवस्थापन गर्न सफाइ गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिए। नवदुर्गाको पूजा गरिएका केही मूर्ति भने नदी किनारमा राखिएका छन्।
सफाइका क्रममा कुहिने फोहर नदी किनारमै खाडल खनेर गाडिएको थियो भने नकुहिने फोहर सङ्कलन गरी ट्रकमार्फत व्यवस्थापन गरिएको थियो।
सफाइ अभियानमा समाजसेवी टोस्टराज क्षेत्री, माथिल्लो बागमती सफाइ अभियानका ईश्वर पुडासैनी, कीर्तिपुर सुन्दरीघाट सफाइ अभियानका संयोजक चित्र सुनुवार, समाजसेवी लीलादेवी खतिवडा तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सरोज पौडेलको नेतृत्वमा कर्मचारी र अभियानकर्मी सहभागी भएका थिए।
अभियानले बागमती नदी तथा आसपासका क्षेत्रलाई स्वच्छ र सफा राख्ने उद्देश्यले नियमित रूपमा सफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी साताको सफाइ कार्यक्रम पनि गुह्येश्वरी मन्दिरअगाडि नै गरिने जनाइएको छ।