म्याग्दी । कालीगण्डकी नदीको कटानबाट क्षतिग्रस्त बनेको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माण गरिने भएको छ । उक्त संरचना पुनर्निर्माणका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।
आगामी वर्षायामअघि नै नदी नियन्त्रण तथा बजार संरक्षणको काम सम्पन्न गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ ।
कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेश टोल पछाडि निर्माण गरिएको करिब ८० मिटर लामो पक्की पर्खाल कटान गरी क्षति पुर्याएको थियो । त्यस्तै, वडा नं. ७ स्थित म्याग्दी जेसीजको कार्यालयअगाडि रहेको करिब १५ मिटर लामो पर्खालसमेत क्षतिग्रस्त बनेको थियो ।
नदी कटानका कारण पर्खालसँगै चक्रपथसमेत प्रभावित भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापनसहित एक महिनाभित्र ठेक्का प्रक्रिया अघि बढाइनेछ ।
उनले पुनर्निर्माणका क्रममा कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्ने योजना रहेको बताए ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनी बजारको संरक्षणका लागि क्षतिग्रस्त पर्खाल पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताए । उनले आवश्यक लागत अनुमान, बजेट व्यवस्थापन र निर्माण प्रक्रिया शीघ्र अघि बढाउन आयोजनालाई आग्रह गरे ।
आयोजना प्रमुख प्रेमहरि पराजुलीले मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइएको जानकारी दिए । पछिल्लो समय थप क्षतिको विवरण प्राप्त भएकाले त्यसलाई अद्यावधिक गरी आवश्यक बजेट मागका लागि विभागमा पठाउने तयारी भइरहेको उनले बताए ।
‘कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको बेनी बजारलगायतका बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर आगामी बर्खाअघि नै नदी नियन्त्रणका योजना सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाउँछौँ,’ उनले भने ।
यसअघि पनि सोही क्षेत्रमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल तथा सघन सहरी विकास आयोजनामार्फत रिङरोड निर्माण गरिएको थियो । बाढीले ती संरचनामा क्षति पुर्याएपछि बजार संरक्षणका लागि पुनर्निर्माण गर्न लागिएको हो ।