अन्ताल्या– जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा उतार्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन् ।
राष्ट्र तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुम र वार्ता अध्यक्ष क्रिस बोवेनले जलवायु परिवर्तन विश्वकै गम्भीर चुनौतीका रूपमा देखा परिसकेको भन्दै यसको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
कार्यकारी सचिव स्टिलले जलवायु कार्यलाई राष्ट्रहरूको सुरक्षा, आर्थिक स्थायित्व र नागरिकको जनजीवनसँग जोड्दै स्वच्छ ऊर्जामा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । जलवायु सङ्कटको उच्च जोखिममा रहेका विकासशील मुलुकलाई थप सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय सहकार्यका कारण विश्वको तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसभन्दा बढीबाट घटेर करिब २.६ डिग्रीमा सीमित भएको उल्लेख गर्दै उनले कोप–३१ मा राष्ट्रिय जलवायु लक्ष्य कार्यान्वयन, अर्थतन्त्रको विद्युतीकरण, जलवायु अनुकूलनका लागि वित्तीय सहयोग वृद्धि तथा विकासशील राष्ट्रको जलवायु वित्तमा पहुँच सहज बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।
कोप–३१ का अध्यक्ष कुरुमले जलवायु परिवर्तन ऊर्जा, उद्योग, कृषि, विकास र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको बताए । सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको उल्लेख गर्दै उनले नेपालमा बाढीपहिरो, पाकिस्तानमा बाढी तथा प्रशान्त क्षेत्रका टापु राष्ट्रमा समुद्री सतह वृद्धि जलवायु सङ्कटको गम्भीर उदाहरण भएको बताए ।
उनले राष्ट्रिय जलवायु लक्ष्यलाई बजेट र लगानीसँग जोड्न, जलवायु वित्तमा सहज पहुँच सुनिश्चित गर्न तथा विपद् उत्थानशीलतालाई राष्ट्रिय विकास नीतिको प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । टर्किएले सन् २०३५ सम्म अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने लक्ष्य लिएको जानकारीसमेत उनले दिए ।
त्यसैगरी, कोप–३१ का वार्ता अध्यक्ष बोवेनले विश्वले ऊर्जा सुरक्षा सङ्कट, युद्ध तथा द्वन्द्व र जलवायु सङ्कटको एकैसाथ सामना गरिरहेको बताए । तापक्रम वृद्धिको प्रत्येक अंशले मानव जीवन, अर्थतन्त्र र वातावरणमा गम्भीर असर पार्ने भएकाले तत्काल सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।
गत वर्ष स्वच्छ ऊर्जामा दुई दशमलव दुई ट्रिलियन अमेरिकी डलर लगानी भएको र उक्त रकम जीवाश्म इन्धनमा भएको लगानीको तुलनामा दोब्बर रहेको उल्लेख गर्दै उनले स्वच्छ ऊर्जाको विस्तारलाई थप तीव्रता दिनुपर्ने बताए ।
बोवेनले जलवायु वित्तलाई छिटो, सरल र न्यायोचित बनाउँदै जोखिममा रहेका राष्ट्रको अनुकूलन क्षमता तथा विपद् उत्थानशीलता अभिवृद्धिका लागि लगानी बढाउनुपर्नेमा जोड दिए । जलवायु वित्तमा विद्यमान असमानता अन्त्य गरी राष्ट्रिय जलवायु योजनालाई कार्यान्वयन गर्न सकिने परियोजनामा रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।
तीनै वक्ताले जलवायु सङ्कटको प्रभावकारी सामना गर्न बहुपक्षीय सहकार्य, पर्याप्त वित्तीय सहयोग र प्रतिबद्धताअनुसारको व्यावहारिक कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्दै कोप–३१ बाट ठोस उपलब्धि हासिल हुनुपर्नेमा जोड दिएका छन् ।