१५ वर्षीया बालिकालाई विवाह गर्छु भन्दै पटक पटक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एकजना पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार पीडित बालिकालाई नयाँ नयाँ ठाउँमा घुमाउने लग्ने बाहना बनाएर पटक पटक करणी गर्दै आएका ३५ वर्षीय सन्देश महतो कोईरीलाई हिजो (सोमबार) वीरगञ्ज महानगरपालिका १३ बाट नियन्त्रणमा लिइएको हो ।
आइतबार राति ती पुरुषले बालिकालाई आफ्नो डेरमा लगेर ललाई फकाई करणी गरेको र यसअगाडि पनि पटक पटक करणी गरेको किटानी जाहेरी बालिकाको अभिभावकले दिएपछि प्रहरीले सोहि दिन आरोपितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महत्तोमाथि जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए ।
अपराध संहिता २०७४ मा १८ वर्ष वा सो भन्दा कम उमेरका बालिकाहरूको मञ्जुरीमा शारीरिक सम्वन्ध राखिएको भएतापनि त्यसलाई करणी गरेको बुझिन्छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको बारेमा व्यवस्था गरिएको छ । जस अनुसार दफा २१९ मा कसैले जवर्जस्ती करणी गर्न हुँदैन भन्ने व्यवस्था गरेको छ ।
कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने कानुनले व्यवस्था गरेको छ ।