
काठमाडौं । ओखलढुंगा जिल्लामा मानसिक रुपमा अस्वस्थ रहेकी महिलामाथि जबरजस्ती करणी भएको छ ।
घटना एक हप्ता अगाडिको भएतापनि आइतबार मात्र प्रहरीमा जाहेरी परेको हो ।
भदौ २५ गते जिल्लाको खिजीदेम्बा गाउँपालिका-६ बस्ने वर्ष ३१ का पाण्डप तामाङ्गले स्थानीय मानसिक रुपमा अस्वस्थ रहेकी अन्दाजी ३१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेको थियो।
ती महिलाका आफन्तले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा किटानी जाहेरी दिएका थिए ।
पीडितको जाहेरी पश्चात प्रारम्भिक अनुसन्धान सकेर अदालतबाट पक्राउ पूर्जी लिएर तामाङलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले केटिएम दैनिकलाई बताए ।
तामाङलाई ईलाका प्रहरी खिजिफलाटे, ओखलढुंगाबाट खटिएको प्रहरी टोलिले आज साँझ ६:३० बजे अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।
केही दिन अगाडि सोही जिल्लाको सिद्धिचरण नगरपालिका-११ मा सुनचाँदी तथा भाँडा पसल सञ्चालन गरी बस्ने अन्दाजी ३० वर्षीय चन्द्र बहादुर बि.क. मानसिक रूपमा अशक्त रहेकी एक बालिकामाथि करणी गरेको आरोपमा पक्राउ परेका थिए ।
नेपालको कानुनले मानसिक रुपमा अशक्त बालिका/महिलामाथि जबरजस्ती करणी गर्ने उपर निर्धारण गरिएको सजायमा थप पाँच वर्षसम्म कैद हुने व्यवस्था गरेको छ ।
नोट: यसमा प्रयोग गरिएको स्केच बलात्कारविरुद्धको कानुनसम्वन्धी जानकारी पुस्तिका बाट लिइएको हो ।