
मन्थली । ६० वर्ष उमेर पुगेकी एक महिलामाथि करणी गरेको आरोपमा १५ वर्षका नाबालक पक्राउ परेका छन् ।
गत भदौ २३ गते बिहान वृद्धामाथि करणी गरेको आरोपमा प्रहरीले अनुसन्धानको लागि नाबालकलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको उमाकुण्ड गाउँपालिका-१ अंगेरी वनमा ती वृद्धामाथि करणी भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।
जाहेरीमा नाबालकले मदिरा सेवन गरेको र वृद्धालाई पनि मदिरा सेवन गराएर संवेदनशील अङ्गमा औँला छिराएको बताइएको छ ।
आरोपित बालकलाई अदालतबाट म्याद थप गरेर बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपालको कानुनले लिङ्ग बाहेक अन्य कुनै वस्तु संवेदनशिल अङ्गमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मान्दछ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ (ग) मा यसबारे उल्लेख गरिएको छ ।

आरोपित नाबालक भएको हुनाले परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक शैलेन्द्र कुमार खड्काले केटिएम दैनिकलाई बताए ।
प्रहरी निरीक्षक खड्काका अनुसार आरोपित बालकलाई अदालतले दोषी ठहर गरेमा कायम भएको सजायको आधा मात्र सजाय भोगे पुग्दछ ।
कानुनमा के छ ?
बालबालिका सम्बन्धी ऐन २०७५ का अनुसार कुनै बालबालिकाले कसुर गरेको खण्डमा, कसुर गरेको समयमा उनीहरूको उमेरअनुसार सजाय निर्धारण हुन्छ ।
(१) कसूरजन्य कार्य गर्दा बालबालिकाको उमेर दश वर्षभन्दा कम भए निज उपर कुनै प्रकारको मुद्दा चलाइने र निजलाई कुनै किसिमको सजाय हुने छैन।
(२) दश वर्ष वा सोभन्दा माथि र चौध वर्षभन्दा कम उमेरको बालबालिकाले जरिबाना हुने कसूरजन्य कार्य गरेको भए निजलाई सम्झाई बुझाई छाडिनेछ र कैद हुने कसूरजन्य कार्य गरेको भए कसूरको प्रकृति हेरी छ महिनासम्म कैद सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म बाल सुधार गृहमा राखिनेछ।
(३) चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानून बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ।
(४) सोह्र वर्ष वा सोभन्दा माथि र अठार वर्ष वा सोभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानून बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको दुई तिहाई सजाय हुनेछ।
रामेछाप प्रहरीले जबरजस्ती करणी आरोपमा अर्का एक व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ ।
असोज ४ गते दिउँसो २८ बर्सिया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उमाकुण्ड गाउँपालिका-३ बस्ने वर्ष ४७ को दिल बहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार पीडित महिला अशक्त हुन् ।