
डडेलधुरा । डडेलधुरामा विवाहित महिलामाथि पटकपटक करणी भएको घटना सार्वजनिक भएको छ ।
गत वैशाख महिनामा दुईपटक सामूहिक जबरजस्ती करणीमा परेकी ती महिला करणीबाट पाँच महिनाको गर्भवती समेत रहेको खुलेको हो ।
गर्भवती भएपछि पीडित महिलाले नजिकैको प्रहरी चौकीमा मौखिक जानकारी गराएकी थिइन् । भदौ ३० गते पीडितबाट मौखिक जानकारी पाएको प्रहरीले असोज २ गते पीडितको ससुराबाट किटानी जाहेरी प्राप्त गरेसँगै अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीमा प्राप्त भएको जाहेरी अनुसार वैशाख ५ गते दिउँसो दुई युवाबाट र वैशाख १२ गते अन्य दुई युवाबाट सामूहिक करणीमा परेको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक विर बहादुर थापाका अनुसार भागेश्वर गाउँपालिका-३ ओड गाउँमा बस्ने कमल ओड र १८ वर्षका प्रकाश ओडले वैशाख ५ गते साथै तपेन्द्र ओड र दिपक ओडले वैशाख १२ गते पीडित महिलामाथि करणी गरेको पीडितको भनाई छ ।
करणीमा संलग्न प्रकाश ओड र दिपक ओड अविवाहित हुन् ।
घटनामा संलग्न ब्यक्तिहरु सबैको पहिचान भएपछि प्रहरीले चारैजनालाई असोज २ गते पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
जिल्ला अदालत डडेलधुराबाट आजका मितिदेखि सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक थापाले केटिएम दैनिकलाई बताए ।
नेपालको कानुनले सामूहिक रुपमा जबरजस्ती करणी गर्नेहरूलाई कायम भएको सजायमा थप पाँच बर्षसम्म कैद हुने व्यवस्था गरेको छ ।
