****घटना १****
२०७७ साल २८ भदौमा सप्तरीको डाक्नेश्वरी नगरपालिका– ७ की १७ वर्षीया संगीता मण्डल खेतको काम गर्न घरबाट निस्केकी थिइन् । तर, खेतको आलीमा चार जनाले पछाडिबाट झ्याप्पझुप्प समातेर उनलाई खेतमै लडाए । वरपर अरू कोही थिएनन् । लुगा खोल्न थालेपछि जोडले उनी चिच्याइन् । तर उनको मुख बन्द गरिएकाले केही सीप लागेन । बलात्कारीहरू जबर्जस्ती गरेर फर्किए । पीडित किशोरी एकछिन बेहोस भइन् । बिहान ६ बजे घरबाट गएकी उनी हिलाम्य र रगतपच्छे अवस्थामा रुँदै घर आइन् । धेरै बेरसम्म उनी एकनासले रोइरहिन् ।
गाउँकै चार जनाबाट आफू बलात्कृत भएको सुनाएपछि उनकी आमाले छिमेकी तथा गाउँका मुख्य नेतालाई घटनाको वृत्तान्त सुनाउँदै न्यायका लागि गुहार मागिन् । गाउँमा पीडित संगीताकी आमालाई पञ्चायती बसाउन पञ्चले सुझाव दिए । पञ्चायतीमा स्थानीय पञ्चहरूले आरोपितहरूबाट ५५ हजार रुपैयाँ लिएर मिल्न दबाब मात्र दिएनन्, पीडितले कतै उजुरी गर्न नपाउनेसमेत फैसला सुनायो ।
प्रहरीका अनुसार ५५ हजार रुपैयाँ लिएर गाउँमै मिल्नुपर्ने पञ्चले फैसला सुनाएका थिए । पञ्चले सुनाएको फैसलाअनुसार पैसा लिएर नमिले गाउँबाटै बहिष्कार गर्नेसमेत केहीले धम्की दिए ।
पञ्चहरूले भेलामा सार्वजनिक रूपमै संगीतालाई बारम्बार कसरी र कतिपटक बलात्कार भयो भनेर सोध्न थालेपछि उनले झनै लज्जा र बेइज्जत महसुस गरिन् । पञ्चहरूले दिएको पीडा संगीताले सहन सकिनन् । अन्ततः उनले आत्महत्याको बाटो रोजिन् ।
****घटना २ ****
२०७७ १ भदौको साँझ धनुषाधाम नगरपालिका नौसयबिगाहस्थित दिदीको घरबाट फर्किंदै गर्दा एक किशोरीलाई धर्मपुरनजिकै युवाको एक समूहले घेराउ गरे ।
किशोरीसँगै रहेका दुई युवालाई सो समूहले कुटपिट गर्दै बन्धक बनाए । प्रहरीका अनुसार १५ वर्षीया ती किशोरीलाई करिब ३ किलोमिटर पर लगेर चार जनाले बलात्कार गरे । उनीहरुले बलात्कार गरेको भिडियोसमेत खिचेको र बलात्कारको कुरा सार्वजनिक गरे भिडियो फेसबुकमा राखिदिने धम्की दिएको प्रहरीसमक्ष ती किशोरीले बताएकी छन् ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरी प्रहरीले दुई जनामाथि मुद्दा चलाएको छ ।
मधेश प्रदेशमा दिनानुदिन बलात्कार हुने क्रम बढ्दो छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीका अनुसार २०७८ श्रावण देखि पुषसम्म १५९ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् ।
६ महिनाको अवधिमा १५९ मुद्दा दर्ता हुनु भनेको औसतमा प्रत्येक दिन १ मुद्दा दर्ता हुनु बराबर हो । यी त सार्वजनिक भएका घटनाहरू हुन् । तर धेरै घटना त्यस्ता हुन्छन्, जुन पीडक वा पीडितको कारण लुकाइने गरेको हुन्छ । विशेषगरी आर्थिक रूपमा सक्षमहरूले घटना लुकाउने गरेकाले पनि धेरै मुद्दा बाहिर आउन सक्दैनन् । कतिपय पीडक सम्पन्न वर्गबाट पनि हुने गरेको हुन्छ । त्यस्ता व्यक्तिबाट भएका घटना आर्थिक प्रलोभन र राजनीतिक पहुँचका कारण बाहिर आउन सक्दैन । नेपालमा साक्षरता दर कम हुनु, बलात्कारसम्बन्धी कानुन फितलो हुनु र बनेका कानुन पनि लागू नहुनुले शक्तिको दुरूपयोग गर्नेका लागि उपयुक्त समय मिल्छ ।
चालु आर्थिक वर्षमा प्रहरीमा दर्ता भएका मुद्दाहरूमा सबैभन्दा बढी धनुषामा भएका छन् । त्यहाँ ३० वटा मुद्दा दर्ता हुँदा १९ जना व्यक्तिहरू पक्राउ परेका छन् फरार रहेका बाँकी व्यक्तिहरूको खोजी कार्य जारी छ ।
त्यस्तै सप्तरीमा ९, सिरहामा २७, महोत्तरीमा १२, सर्लाहीमा २२, रौतहटमा २०, बारामा १६, पर्सामा २३, मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले केटिएम दैनिकलाई उपलव्ध गराएको विवरणमा उल्लेख छ ।
एक सय ५९ मुद्दा दर्ता भएतापनि अहिलेसम्म पक्राउ पर्नेहरूको सङ्ख्या ९८ मात्र छ । यस प्रदेशका सबै जिल्लाहरूको भारतसँग सीमा जोडिएको हुनाले धेरै आरोपितहरू भारततर्फ गएर लुक्ने हुनाले पक्राउ पर्नेहरूको सङ्ख्या कम देखिएको प्रवक्ता कार्की बताउँछन् ।
नोट : हामीले ७ दिनसम्म बलात्कार विरुद्ध ७ वटा स्टोरीहरू प्रकाशित गर्नेछौं । आज चौँथो दिन हो । तपाइलाई पनि बलात्कार विरुद्ध केही लेख्न मन छ भने हामीलाई ktmdainikofficial[at]gmail.com मा पठाउन सक्नुहुन्छ । अघिल्लो वर्ष भ्यालेन्टाइन सप्ताह मनाइरहँदा हामीले बलात्कार विरुद्धको अभियान सुरुवात गरेका थियौं । यो वर्ष त्यसकैको निरन्तरता हो । अभियान नाम सुन्नेबित्तिकै कुनै संस्था, सरकार वा आइएनजिओबाट आर्थिक रकम लिएको बुझिएला तर यसमा कसैको सहयोग नरहेको स्पष्ट पार्न चाहन्छौं । यो अभियान समाजमा चेतना जगाउने केटिएम दैनिकको प्रयास हो ।