काठमाडौँ । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
राजनीतिक निकासका लागि भन्दै उनीहरूले शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामलाई सम्बोधन गरी बुझाइएको पत्रमा चारै जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन्।
उनीहरूले राजीनामा पत्रमा राजनीतिक निकासका लागि सामूहिक राजीनामा दिएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले हालसम्म गरेको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
चार मन्त्रीको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेको छ। नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपाबीच मिलेर नयाँ सरकार गठन गर्ने सहमति भएको बताइएको छ।
0