काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्ना गल्ती र कमजोरी ढाकछोप गर्न सरकारले सभापति गगनकुमार थापाबारे अफवाह फैलाएको आरोप लगाएका छन् । उनले सरकारको धम्की र दबाबबाट कांग्रेस नतर्सिने बताए ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले बिचौलिया इनम सापकोटा र सभापति थापाबीच कुनै चिनजान वा लेनदेनको सम्बन्ध नरहेको स्पष्ट पारे । बरु सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा विभिन्न स्थानमा सहभागी भएको उनको दाबी थियो ।
सरकारले कांग्रेस र सभापति थापामाथि लगाएका आरोप पुष्टि गर्न चुनौती दिँदै पौडेलले कानुनी आधारबिना पक्राउ गर्ने वा धरपकडको प्रयास गर्नु उचित नभएको बताए । उनले अनुसन्धानमा पार्टीको सहयोग रहने स्पष्ट पार्दै निष्पक्ष छानबिनका नाममा जबर्जस्ती गर्न खोजिए प्रतिवाद गर्ने चेतावनी दिए ।
उनले भने, ‘सरकारले जे आरोप लगाइरहेको छ, पहिले त्यो पुष्टि गरोस् । हामीले स्पष्टसँग भनेका छौँ, छानबिन गर्न रोक्दैनौँ, छानबिन गर्नुस् । पक्राउ नै किन गर्ने ? पक्राउ गर्नका लागि त कानुनी आधार होला नि ।’
सरकारले कानुनअनुसार मर्यादामा रहेर काम गर्नुपर्ने उल्लेख गर्दै पौडेलले अनुसन्धानमा सहयोग गर्न तयार भए पनि अनावश्यक धरपकड स्वीकार्य नहुने बताए ।