चन्दा क्षेत्री/काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भइरहेको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको छ । चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेट गुमाएर १२१ रन मात्रै बनाउन सक्यो ।
पोखराका अर्जुन कुमालले ४३ बलमा १ छक्का र ३ चौकासहित ४५ रन र युवराज शर्माले १४ बलमा १९ रन बनाए ।
चितवनका रिजन ढकालले ४ विकेट लिए । यस्तै कमल ऐरीले ३, डन माउस्ली, मौसम ढकाल र कुशल मल्लले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मदौनमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
चितवनका कप्तान सिकन्दर राजाले १६ बलमा ४ छक्का र २ चौकासहित ३७, रवि बोपाराले २८ बलमा १ छक्का र ३ चौकासहित ३५, अर्जुन साउदले २७ बलमा १ छक्का र २ चौकासहित ३१, दविड मलानले २८ बलमा ३ छक्कासहित २८ रन बनाए ।
पोखराका विपिन खत्री र कुशल भुर्तेल र चमिका करुरत्नेले समान २ विकेट लिए ।
यो जितसँगै चितवन ४ खेलमा ५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने लगातार ४ खेलमा पराजित पोखरा तालिकाको पुछारमा छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको थियो ।