काठमाडौं । तिहार, छठ र नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले पर्वलक्षित सुरक्षा कार्ययोजना बनाएर देशभर कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनका अनुसार सम्भावित सुरक्षा चुनौतीको पहिचान र विश्लेषण गरी जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी तथा प्रहरी परिचालन बढाइएको छ ।
सुरक्षा निगरानीका लागि सीसीटीभी, बडीओर्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन गरिने उनले बताए । पटका तथा विस्फोटक पदार्थको अवैध आयात रोक्न सीमा नाका र भन्सार क्षेत्रमा निगरानी कडा पारिएको छ । विभिन्न स्थानमा चेकपोइन्ट स्थापना, आकस्मिक जाँच, गस्ती र पेट्रोलिङका साथै भीडभाड हुने बजार तथा मेला क्षेत्रमा पनि प्रहरी परिचालन बढाइएको छ ।
जुवातास खेल्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरी होहल्ला गर्ने र झैझगडा गर्ने गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी खटाइएको काफ्लेले बताए । देउसीभैलो कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको उनले जानकारी दिए ।
यात्रु तथा सवारी सुरक्षामा विशेष निगरानी
चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । लामो दूरीका सवारीसाधन छुट्ने स्थानमै चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था जाँच गर्ने व्यवस्था मिलाइएको काफ्लेले बताए ।
लामो दूरीका सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन भए/नभएको निगरानीसमेत बढाइएको छ । सवारीसाधनको यान्त्रिक अवस्था परीक्षणलाई पनि प्राथमिकता दिइएको उनले बताए ।
सीमावर्ती क्षेत्रमा स्वदेश फर्किने नेपाली नागरिक ठगी, लुटपाट तथा दुर्व्यवहारमा नपरून् भन्ने उद्देश्यले १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
कालोबजारी र खाद्य मिसावटविरुद्ध संयुक्त अनुगमन
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने तथा म्याद गुज्रिएका र गुणस्तरहीन सामग्री बिक्री गर्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ ।
आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत निकायसँग समन्वय गरी संयुक्त बजार अनुगमन भइरहेको प्रवक्ता काफ्लेले बताए । मिठाई, फूलमाला तथा पूजासामग्री बिक्री हुने स्थान र भण्डारण केन्द्रमा समेत निगरानी बढाइएको छ ।
पटका, भुइँचम्पा, झिरझिरेलगायत विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, आँखामा चोट, श्रवणशक्तिमा क्षति तथा अन्य दुर्घटना हुन सक्ने भन्दै प्रहरीले प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अवैध ओसारपसार तथा प्रयोगबारे जानकारी भए प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न पनि अनुरोध गरिएको छ ।
घर लामो समय खाली राखेर बाहिर नजान तथा यात्रासम्बन्धी विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले सुझाव दिएको छ । घरमा बहुमूल्य गरगहना र नगद नराख्न तथा सम्भव भएसम्म सीसीटीभी र सुरक्षित ताल्चाको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।
आगलागी रोकथाममा सतर्कता अपनाउन आग्रह
लक्ष्मीपूजाका क्रममा दियो, मैनबत्ती तथा अन्य प्रज्वलनशील सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । दियो र मैनबत्ती आगो सल्किन सक्ने स्थानमा नराख्न, बालेर नछाड्न तथा बालबालिकालाई आगो र विस्फोटक पदार्थबाट टाढा राख्न अनुरोध गरिएको छ । गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् उपकरण तथा तारको अवस्था जाँच गर्न पनि प्रहरीले सुझाव दिएको छ ।
सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि प्रहरीका क्विक रेस्पोन्स टिम (क्यूआरटी), सिआरभी तथा विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको काफ्लेले बताए ।
प्रहरीले शान्तिपूर्ण र सुरक्षित रूपमा चाडपर्व मनाउन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि, दुर्व्यवहार वा आपराधिक क्रियाकलाप देखिए तत्काल प्रहरीको १०० नम्बरमा जानकारी दिन अनुरोध गरेको छ ।