फिलिपिन्स। फिलिपिन्सको अल्बे प्रान्तमा रहेको सक्रिय मायोन ज्वालामुखीमा शुक्रबार मध्याह्न विस्फोट भएको छ। विस्फोटपछि आकाशमा तीन हजार मिटर उचाइसम्म खरानीको मुस्लो फैलिएको छ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी एन्ड सिस्मोलोजी (फिभोल्क्स) का अनुसार स्थानीय समयअनुसार बिहान ११ः५३ बजे भएको विस्फोट करिब ६ मिनेटसम्म जारी रहेको थियो। विस्फोटबाट निस्किएको खरानी र धुलो पश्चिम तथा दक्षिण–पश्चिम दिशातर्फ फैलिने अनुमान गरिएको छ।
विस्फोटको तीव्रता र म्याग्माको सक्रियता बढेपछि फिभोल्क्सले ज्वालामुखीको सतर्कता स्तर २ बाट बढाएर ३ पुर्याएको छ। अधिकतम पाँच तहको सतर्कता प्रणालीमा तेस्रो तहले ज्वालामुखी म्याग्मा विस्फोटको नयाँ चरणमा प्रवेश गरेको संकेत गर्छ। यससँगै आगामी दिनमा लाभा प्रवाह र घातक तातो ग्यास, खरानी तथा चट्टानको तीव्र बहाव (पाइरोक्लास्टिक डेन्सिटी करेन्ट) को जोखिम बढेको छ।
सम्भावित मानवीय क्षति रोक्न अधिकारीहरूले ज्वालामुखीको ६ किलोमिटर वरपरको स्थायी जोखिम क्षेत्रबाट सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सार्न स्थानीय प्रशासनलाई सिफारिस गरेका छन्। ज्वालामुखीको माथिल्लो र मध्य भागबाट तातो लाभा तथा ढुङ्गासहितको बहाव हुन सक्ने चेतावनीसमेत दिइएको छ।
खरानी र धुवाँका कारण हवाई उडान प्रभावित हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नागरिक उड्डयन प्राधिकरणलाई पनि सतर्क गराइएको छ। विमान चालकहरूलाई ज्वालामुखीको चुचुरो आसपासको आकाशमा उडान नगर्न र सुरक्षित हवाई मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ।
आफ्नो लगभग सममित शंकु आकारका कारण विश्वप्रसिद्ध मायोन फिलिपिन्सका २४ सक्रिय ज्वालामुखीमध्ये एक हो। यसअघि भएका घातक विस्फोटका कारण यस क्षेत्रबाट हजारौँ मानिस विस्थापित भएका थिए। पछिल्लो विस्फोटपछि स्थानीय विपद् व्यवस्थापन निकायलाई उच्च सतर्कतामा राखिएको छ।