काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई पुनः युद्धमा नफर्कन चेतावनी दिएका छन् ।
अमेरिका र इजरायलले सम्भावित सैन्य आक्रमणको धम्की दिइरहेका बेला खामेनीले शनिबार यस्तो चेतावनी दिएका हुन् । सर्वोच्च नेताको आधिकारिक वेबसाइटमा प्रकाशित लिखित वक्तव्यमा शत्रु राष्ट्रहरूले पुनः सैन्य वा आतङ्कवादी आक्रमण गरे त्यसको जवाफ दिने समय र परिस्थिति इरानका सशस्त्र बल तथा जनताले निर्धारण गर्ने उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, ‘यदि शत्रुहरूले फेरि सैन्य वा आतङ्कवादी आक्रमण गरे भने त्यसलाई रोक्ने समय र अवस्था इरानका सशस्त्र बल र इरानी जनताले निर्धारण गर्नेछन् ।’
यो अभिव्यक्ति खामेनी र इरानका उच्च सैन्य कमाण्डरहरूबीच भएको बैठकपछि सार्वजनिक भएको हो । बैठकमा सशस्त्र बलका प्रमुख अली अब्दोल्लाही, सेना प्रमुख अमिर हातमी र इस्लामिक रिभोलुसनरी गार्डका कमाण्डर अहमद वाहिदी सहभागी थिए ।
सर्वोच्च नेता बनेपछि खामेनी र उच्च सैन्य कमाण्डरहरूबीच भएको यो पहिलो सार्वजनिक रूपमा जानकारीमा आएको बैठक हो । सर्वोच्च नेताको जिम्मेवारी सम्हालेयता उनी सार्वजनिक रूपमा देखिएका छैनन् ।
उनका पिता तथा पूर्वसर्वोच्च नेता अयातुल्ला अली खामेनीको फेब्रुअरीमा अमेरिका र इजरायलले गरेको आक्रमणमा मृत्यु भएको थियो ।
वक्तव्यअनुसार खामेनीले कुनै पनि स्तर वा प्रकृतिको धम्कीको तत्काल, प्रभावकारी र भौगोलिक सीमाविहीन जवाफ दिन सैन्य कमाण्डरहरूलाई निर्देशन दिएका छन् । उनले अमेरिकी तथा इजरायली शत्रुसँग सम्बन्धित सबै प्रकारका भौतिक र अभौतिक सम्पत्तिलाई पनि लक्ष्य सूचीमा समावेश गर्न आदेश दिएका छन् ।
यसैबीच, मध्यपूर्वमा पुनः युद्ध चर्किन नदिन कूटनीतिक प्रयासहरू जारी छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि युद्ध सुरु भएको थियो । त्यसको जवाफमा इरानले क्षेत्रका विभिन्न देशमा आक्रमण गरेको थियो ।
शुक्रबार कतारको एक प्रतिनिधिमण्डल तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गरेको छ । यसैगरी, इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरेको जनाएको छ । तर, इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले उक्त पत्रको जवाफ भने अहिलेसम्म दिएको छैन ।