काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवनले पोखरालाई हराउँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको हो।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो। पोखराको यो लगातार चौथो हार हो। चार खेलबाट पाँच अंक जोडेको चितवन तेस्रो स्थानमा रहँदा पोखरा अंकविहीन हुँदै तालिकाको पुछारमा छ।
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ४४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै युवराज सम्राले १९ तथा किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कप्तान परिवर्तनपछि नयाँ ओपनिङ जोडीका रूपमा मैदान उत्रिएको पोखराले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमाएको थियो। भुर्तेल ४ रन बनाएर आउट भए। त्यसपछि युवराज सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे। सम्रा १९ रन बनाएर आउट भएपछि पोखराको इनिङ्स दबाबमा परेको थियो।
अर्जुन कुमालले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनलाई अन्य ब्याटरले साथ दिन सकेनन्। सदिरा समराविक्रमा ४ र महेदी हसन ७ रनमा आउट भए। किरण ठगुन्नाले १३ रन बनाए भने नयाँ कप्तान चमिका करुणारत्ने २ रनमै पभेलियन फर्किए। सुदिप अर्याल, विपिन खत्री र सागर ढकालले खाता खोल्न सकेनन्।
चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। कमलसिंह ऐरीले २ ओभरमा एक मेडनसहित ७ रन दिएर ३ विकेट झारे। यस्तै डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो।
चितवनका लागि कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै १६ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३७ रन बनाए। रवि बोपाराले २८ बलमा ३ चौका र एक छक्कासहित ३५ रन जोडे। यस्तै अर्जुन साउदले ३१ र डेविड मलानले २८ रन बनाए।
ओपनर अर्जुन साउद र डेविड मलानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए। अर्जुनले २७ बलमा २ चौका र एक छक्का प्रहार गरे भने मलानले २८ बलमा ३ चौका हिर्काए।
त्यसपछि चितवनले लगातार विकेट गुमायो। डान मोस्ले २ र यस सिजन पहिलो खेल खेलेका मार्की खेलाडी कुशल मल्ल ११ रनमा आउट भए। ८६ रनमा चार विकेट गुमाएको अवस्थामा रवि बोपारा र सिकन्दर राजाले पाँचौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै टोलीको स्कोर उकासेका थिए।
तर अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले बोपारा र राजालाई आउट गरे। कमलसिंह ऐरी २ रनमा अविजित रहे।
पोखराका लागि चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए।
लगातार तीन खेलमा पराजित भएपछि पोखराले कप्तानी परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा श्रीलंकाका बलर चमिका करुणारत्नेलाई नेतृत्वको जिम्मेवारी दिएको थियो। तर कप्तान परिवर्तनपछि पनि पोखराले हारको शृङ्खला तोड्न सकेन।