नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले शनिबार बिहान एक सन्देश जारी गरेका छन् । महानिरीक्षक कार्कीले निरन्तर वर्षका कारण आउन सक्ने विपत्तीबारे सन्देश जारी गरेका हुन्।
सामाजिक सन्जाल फेसबकु मार्फत सन्देश जारी गर्दै महानिरीक्षक कार्कीले विपदमा सबैले सहकार्य गर्नुपर्ने बताएका छन्। विपदबाट उत्पन्न जोखिम न्यूनिकरणका लागि सबैले सहकार्य गर्नुपर्ने उनको आग्रह छ।
नेपाल प्रहरीका महानिरीक्षक कार्कीको सन्देश जस्ताको तस्तै-
विपद्को असर कम गर्न अभूतपूर्व सहकार्य गरौँ !
आदरणीय आमा-बुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण सञ्चारकर्मी मित्रहरू,
जय नेपाल!
यहाँहरू सबैलाई जानकारी नै छ, वर्षा, सम्भावित हावाहुरी तथा त्यसले सिर्जना गर्न सक्ने परिस्थिति एवं सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्नु अहिले हामी सबैको साझा दायित्व हो। विपदबाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहनेछ।
यस क्रममा यहाँहरूको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ। यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ। साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ।