चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतलगायत राज्यका संस्थाको गरिमा र विश्वसनीयता कमजोर बनाउने अभिव्यक्ति तथा गतिविधि नगर्न आग्रह गरेका छन् ।
शुक्रबार चितवनमा आफ्नो धारणा राख्दै लामिछानेले अदालतका विषयमा सुनेका वा लेखिएका आधारमा हचुवाका भरमा टिप्पणी गर्दा संस्थाप्रतिको विश्वास कमजोर हुने बताए । अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, प्रेस, पेशागत संगठन र वैदेशिक सम्बन्धजस्ता राज्यका आधारस्तम्भ कमजोर भए समग्र देश र लोकतन्त्र नै कमजोर हुने उनको भनाइ थियो ।
उनले अभिव्यक्ति, गतिविधि र निर्णयमार्फत लोकतन्त्रका आधारस्तम्भ कमजोर बनाउने काम गर्न नहुने उल्लेख गर्दै राज्यका संस्थालाई स्वतन्त्र र प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सक्षम बनाउनुपर्ने बताउँदै लामिछानेले पद र प्रतिष्ठाको प्रभावबिना सबैमाथि निष्पक्ष अनुसन्धान हुन सक्ने व्यवस्था आवश्यक रहेको बताए । भ्रष्टाचारमा संलग्न व्यक्तिहरू कमजोर अनुसन्धानका कारण कानुनी प्रक्रियाबाट उन्मुक्ति पाउने अवस्था आउन नहुने उनको भनाइ थियो ।
‘हामीले खोजेको अनुसन्धान प्रणाली निष्पक्ष, सशक्त र प्रमाणमा आधारित हुनुपर्छ,’ लामिछानेले भने ।