काठमाडौँ । तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्नुका साथै सम्भावित आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ । सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा निगरानी र चेकजाँचलाई समेत तीव्र बनाइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारका समयमा दियो, बत्ती तथा पटका प्रयोगबाट हुनसक्ने आगलागी र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिए ।
उनका अनुसार देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले निर्धारण गरेको समयसीमाभित्र मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ । त्यस्तै, पटका तथा अन्य प्रज्ज्वलनशील र विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण तथा बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार क्षेत्र र बजारमा विशेष चेकिङ टोली परिचालन गरिएको छ ।
जुवातास तथा सट्टेबाजी हुनसक्ने सम्भावित क्षेत्रमा सादा पोसाकका प्रहरी खटाइएको प्रहरीले जनाएको छ । साथै, पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक सन्देश प्रवाह भइरहेको छ ।
चाडपर्वका अवसरमा आयोजना हुने र्याली, जुलुस तथा शोभायात्राका क्रममा समुदायबीच हुनसक्ने विवाद र झडप न्यूनीकरण गर्न सुरक्षा व्यवस्था थप मजबुत पारिएको प्रवक्ता काफ्लेले बताए ।
राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम बजाउने, पटका पड्काउने र आतिशबाजी गर्ने गतिविधिबाट वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई असर पर्नसक्ने भएकाले त्यस्ता गतिविधिमा पनि निगरानी बढाइएको उनले जानकारी दिए ।
चाडपर्वका नाममा अनियन्त्रित रूपमा मादक पदार्थ सेवन गर्ने तथा जुवातास खेल्ने प्रवृत्तिले घरेलु हिंसा, कुटपिट र व्यक्तिगत झगडाका घटना निम्त्याउन सक्ने भएकाले नियन्त्रणका लागि विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मेला तथा सार्वजनिकस्थलमा प्लास्टिक, फूलमाला र पूजासामग्री जथाभावी विसर्जन गर्दा जल तथा स्थल प्रदूषण हुनसक्ने भएकाले सम्बन्धित पक्षसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको छ ।
प्रवक्ता काफ्लेले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी सदैव प्रतिबद्ध रहेको बताए ।
तिहारलाई उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्वका रूपमा मनाउन आग्रह गर्दै प्रहरीले यसलाई सुरक्षित, सभ्य र मर्यादित बनाउन सबैसँग अनुरोध गरेको छ ।
पटका तथा आतिशबाजीको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न तथा घाइतेको शीघ्र उद्धार गरी स्वास्थ्य संस्थासम्म पुर्याउन सहयोग गर्न पनि अनुरोध गरिएको छ ।
अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।