काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक १५ दशमलव ४४ अंकले बढेर २ हजार ५३८ दशमलव ११ विन्दुमा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ०२ अंकले बढेर ४४९ दशमलव १८ विन्दुमा पुगेको छ। यस्तै, फ्लोट परिसूचक १ दशमलव २२ अंकले बढेर १७४ दशमलव १९ तथा सेन्सेटिभ फ्लोट परिसूचक १ दशमलव १७ अंकले बढेर १५१ दशमलव ६१ विन्दुमा कायम भएको छ।
बुधबार ७२ लाख ६८ हजार २०२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ रुपैयाँ पुगेको छ।
कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने दुई उपसमूह घटेका छन्। बजारमा १९३ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
आज उपकार लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस्तै, एनएमबी ऊर्जा बन्ड, आरबीबी म्युचुअल फन्ड र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्।