चितवन । चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट ११९ जना जवान दीक्षित भएका छन्। बिहीबार आयोजित दीक्षान्त समारोहमा प्रशिक्षार्थी जवानलाई शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
दीक्षान्त समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक राजेन्द्र खड्काले दीक्षित जवानबाट सलामी ग्रहण गरेका थिए। सो अवसरमा जवानहरूले अन्तिम कवाज प्रदर्शन गरेका थिए भने तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै नायब महानिरीक्षक खड्काले तालिम पूरा गरेसँगै जवानहरूको काँधमा राष्ट्र र नागरिकको सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी थपिएको बताए। अनुशासन, लगनशीलता र इमानदारीका साथ कर्तव्य निर्वाह गरेमा उज्ज्वल भविष्य निर्माण गर्न सकिने उनको भनाइ थियो।
उनले दीक्षित जवानलाई आत्मविश्वास र उत्साहका साथ कार्यक्षेत्रमा खटिन आग्रह गर्दै तालिमका क्रममा सिकेका ज्ञान, सीप र अनुभव राष्ट्रसेवामा समर्पित गर्नुपर्नेमा जोड दिए। जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार रहनुपर्ने उल्लेख गर्दै उनले नागरिकको सम्मान र सुरक्षा नै जवानहरूको प्रमुख जिम्मेवारी भएको बताए।
कर्तव्य निर्वाह गर्दा कठोरतासँगै मानवीयता, साहससँगै विवेक तथा अनुशासनसँगै विनम्रता कायम राख्नुपर्नेमा जोड दिँदै खड्काले नागरिकको विश्वास जितेर काम गर्न जवानहरूलाई निर्देशन दिए। उनले जवान उत्पादन गर्ने परिवार तथा तालिम प्रदान गर्ने प्रशिक्षक र शिक्षालयप्रति आभारसमेत व्यक्त गरे।
तालिम शिक्षालयका प्रमुख एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरेले सङ्गठनको भर्ना तथा छनोट प्रक्रियाका विभिन्न चरण पार गरी नियुक्त भएका जवानलाई निर्धारित नीतिअनुसार आधारभूत तालिम प्रदान गरिएको जानकारी दिए।
उनका अनुसार योग्य, इमानदार, व्यावसायिक र कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिम सफलतापूर्वक सम्पन्न गर्ने ११९ प्रशिक्षार्थीमध्ये ख क्ष समूहका आठ, ख त्र समूहका तीन, ग क्ष समूहका २०, ग त्र समूहका ५७ र घ त्र समूहअन्तर्गत ग्रेडिङमा ३१ जना रहेका छन्।
तालिमलाई दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो। पहिलो चरणमा फौजी कवाज, हतियार तालिम, सैन्य कौशल, बीपीईटी, मेडिकल, फायरिङ, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, परम्परागत युद्धकला तथा नक्सा अध्ययनलगायत विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइएको थियो।
त्यस्तै, दोस्रो चरणमा बीपीईटी, क्वार्टर गार्ड ड्रिल, सलामी, विभिन्न ऐनकानुन, विपद् व्यवस्थापन, हुल तथा दङ्गा व्यवस्थापन, सीमा सुरक्षा, माइनर ट्याक्टिक्स, फायरिङ, फिल्ड इन्जिनियरिङ र रेडियो सिग्नललगायत विषयमा प्रशिक्षण प्रदान गरिएको घिमिरेले बताए। तालिमका दुवै चरणमा पाँच–पाँच दिनका बाह्य अभ्याससमेत सञ्चालन गरिएको थियो।
दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बलका विभिन्न तहका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख र दीक्षित जवानका अभिभावकको सहभागिता रहेको थियो।