सर्लाही । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो।
सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार थापालाई बुधबार राति बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको आफ्नै घरबाट पक्राउ गरिएको हो। उनी घरमा आएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएर पक्राउ गर्न सफल भएको पौडेलले बताए।
प्रहरीका अनुसार थापा पक्राउ पर्दा उनको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको छ। उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
थापा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका थिए। त्यसपछि उनी नेपाल तथा भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाइ छ।
भेष बदलेर बस्ने र आवश्यक पर्दा अरूको मोबाइल प्रयोग गरी सम्पर्क गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो।
यसअघि पनि लामो खोजीपछि पक्राउ परेका थिए थापा
न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएका थापा यसअघि पनि लामो समयको खोजीपछि पक्राउ परेका थिए। प्रहरीले दुई वर्ष सात महिनासम्म निगरानी र खोजी गरेपछि २०७१ सालमा उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।
त्यतिबेला उनको पक्राउलाई प्रहरीको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थापालाई सार्वजनिक गर्दा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल स्वयं पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। अर्यालले उक्त पक्राउलाई प्रहरीको घाँटीमा अड्किएको काँडा निकालिएसरह भएको टिप्पणी गरेका थिए।
थापा चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थिए। पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेशसँग जोडिएको न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएपछि उनी जन्मकैदको सजाय भोगिरहेका थिए।
राजनीतिक विवाद र अदालतको आदेश हत्याको पृष्ठभूमि
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो। बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा उनको गाडी रोकेर गोली प्रहार गरिएको थियो।
प्रहरी अनुसन्धानअनुसार हत्याको पृष्ठभूमिमा चुरेभावर राष्ट्रिय पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेश जोडिएका थिए।
पार्टीको नेतृत्वसम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेपछि आयोगले केशव मैनालीको सट्टा बाबु थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएको थियो। उक्त निर्णयविरुद्ध मैनाली सर्वोच्च अदालत पुगेका थिए। त्यसपछि न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
अनुसन्धानका क्रममा अदालतको आदेशले आफ्नो राजनीतिक भविष्य समाप्त हुने ठानेपछि थापाले हत्याको योजना बनाएको निष्कर्ष निकालिएको थियो। तत्कालीन अनुसन्धान अधिकारीहरूले पनि पार्टीभित्रको विवाद र अदालतको आदेशलाई हत्याको प्रमुख कारणका रूपमा व्याख्या गरेका थिए।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीको खोजीमा रहेका थापा अन्ततः सर्लाहीस्थित आफ्नै घरबाट पक्राउ परेका हुन्।