धनगढी। सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था अन्त्य गर्दै बजेट निर्माणको कामलाई तीव्रता दिन सरकारलाई आग्रह गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विगतमा बजेट निर्माणका क्रममा उठ्दै आएका प्रश्न र असन्तुष्टिलाई सम्बोधन गर्दै प्रदेशको आवश्यकता र प्राथमिकतामा आधारित बजेट ल्याउन सरकारलाई सुझाव दिएको हो।
नेपाल कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकमा विगतमा सबै दलको सहमतिमा तय गरिएका बजेट निर्माणसम्बन्धी मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा टुक्रे तथा छरिएका योजनालाई निरुत्साहित गर्दै प्रदेशको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्ने ठूला, प्राथमिकताप्राप्त तथा रुपान्तरणकारी योजनालाई बजेटमा समेट्नुपर्नेमा दलहरूबीच सहमति भएको थियो।
प्रदेशको आवश्यकता, प्राथमिकता र उपलब्ध स्रोतका आधारमा बजेट तथा योजना निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको छ। प्रदेशसभा सदस्यहरूले सिफारिस गर्ने योजनासमेत रणनीतिक महत्व, आवश्यकता र औचित्यका आधारमा छनोट गर्नुपर्नेमा सहभागी दलहरू सहमत भएका छन्।
टुक्रे योजनाका नाममा हुने बेथिति अन्त्य गरी प्रदेशको दीर्घकालीन विकासमा योगदान पुर्याउने योजनालाई प्राथमिकता दिनुपर्ने बैठकको निष्कर्ष छ।