सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दसैंको शुभकामना दिएका छन् । एक विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले यो दसैंले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको सर्वोपरी हितमा समर्पित हुने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।
बुधबार दसैंको शुभकामना व्यक्त गर्दै सभापति लामिछानेले नेपाली जनताको संकटसँग जुध्ने साहस मिलोस् भन्ने पनि कामना गरेका छन् । ‘यस वर्षको बडादसैं हामी विपत्ती र शोकको घडीमा मनाउँदै छौं । धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौं परिवार घरबारविहीन र विस्थापित भएका छन् । यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ लामिछानेले भनेका छन्, ‘सङ्कटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ ।’
लामिछानेले अगाडि भनेका छन्, ‘नवदुर्गा भवानीले हामी सबैलाई आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा निस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै सङ्कटसँग जुध्ने अदम्य साहस प्रदान गरून्।’