धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारसँग आग्रह गरेको छ।
आज बसेको संसदीय दलको बैठकले बजेट अभावका कारण प्रदेश सरकारका नियमित कामकारबाही, विकास निर्माण तथा सार्वजनिक सेवा प्रभावित हुन थालेको भन्दै तत्काल बजेटसम्बन्धी प्रक्रिया टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएको हो।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा नियमित प्रशासनिक कामसमेत प्रभावित हुने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ। बैठकले आगामी असोज १५ गतेभित्र बजेट पारित गर्ने गरी प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको प्रदेशसभा सदस्य तुल्सी देवकोटाले जानकारी दिए।
चाडपर्व नजिकिँदै गएको अवस्थामा बजेट शून्यताको असर अत्यावश्यक सेवा प्रवाहमा समेत पर्न थालेको भन्दै बैठकले नागरिकका दैनिक सरोकारका सेवा प्रभावित हुन नदिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए।
बैठकले बजेट पारित गर्ने प्रक्रियामा प्रदेशसभाको प्रभावकारी भूमिका सुनिश्चित गर्न तथा आवश्यक सहमति र संवादमार्फत निकास खोज्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
बजेट शून्यताको अवस्था थप लम्बिँदै गए प्रदेशको विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र प्रशासनिक गतिविधिमा थप असर पर्ने भन्दै त्यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिएको छ।
यसअघि तत्कालीन मुख्यमन्त्री शाहले प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिसकेका थिए। तर, सरकार परिवर्तन भएपछि हालसम्म नयाँ बजेट ल्याइएको छैन।