दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि बजार र ढुवानीको समस्या हुँदा किसानलाई बिक्री गर्न कठिन भएको छ ।
पाथा र कसौती गाउँका करिब ५० परिवारले व्यावसायिक तथा परम्परागत रूपमा स्याउखेती गर्दै आएका छन् । कलमी, गाला र इटालियन फुजीलगायत उन्नत जातका स्याउ लटरम्म फले पनि बजारको सुनिश्चितता नहुँदा किसान समस्यामा परेका हुन् ।
अपी हिमाल–३ पाथामा व्यावसायिक स्याउखेती गर्दै आएका हिमालयन कृषि फार्मका सञ्चालक कपुरसिंह धामीका अनुसार उनका ५०० भन्दा बढी बोटमा यस वर्ष १५ देखि २० क्विन्टल स्याउ उत्पादन भएको छ । तर, बजार र ढुवानीको समस्याका कारण अधिकांश स्याउ बिक्री हुन सकेको छैन ।
“गाउँका सबैजसो परिवारले स्याउखेती गरेका छन् । एक सयभन्दा बढी बोट भएका १०/१२ परिवार छन् । कतिपयले थोरै बिक्री गरे, आफन्तलाई दिए, तर मेरो करिब १० क्विन्टल स्याउ अझै त्यत्तिकै छ,” धामीले भने, “गाउँमै प्रतिकिलो एक सय रुपैयाँका दरले करिब एक क्विन्टल बिक्री गरेँ । गाडी पुग्ने ठाउँसम्म स्याउ लैजान पनि एक दिन लाग्छ । त्यहाँ पुर्याएपछि बिक्री हुन्छ कि हुँदैन भन्ने निश्चित छैन ।”
अपी हिमाल–३ कै कसौती गाउँमा पनि जनकसिंह कार्कीलगायत किसानले व्यावसायिक रूपमा स्याउखेती गरेका छन् । पाथाभन्दा अझै दुर्गम र टाढा रहेको कसौतीका किसानलाई उत्पादित स्याउ बजारसम्म पुर्याउन झन् कठिन रहेको स्थानीय किसानको भनाइ छ ।
स्याउको बजारीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले घरेलु तथा साना उद्योग विकास कार्यालयले तीन वर्षअघि पाथा गाउँमा चिस्यान केन्द्र निर्माण गरेको थियो । हाल उक्त केन्द्रमा धामीको करिब १० क्विन्टलसहित किसानका १५ देखि २० क्विन्टल स्याउ भण्डारण गरिएको छ ।
तर, विद्युत् आपूर्ति नियमित नहुँदा चिस्यान केन्द्रमा लामो समयसम्म स्याउ राख्नुपर्ने अवस्था आएमा उत्पादन बिग्रने चिन्ता किसानमा बढेको छ । बजारको सुनिश्चितता, नियमित विद्युत् आपूर्ति र सहज ढुवानीको व्यवस्था हुन सके स्याउखेतीबाट राम्रो आम्दानी गर्न सकिने किसानको अपेक्षा छ।