काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजमा आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
यस वर्षको दसैँ कठिन परिस्थितिमा मनाउनुपरेको उल्लेख गर्दै उनले विपत्तिका कारण धेरै नागरिकले ज्यान गुमाउनुका साथै हजारौँ परिवार घरबारविहीन र विस्थापित हुनुपरेको बताएका छन्।
‘असत्यमाथि सत्यको र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले सन्देशमा भनेका छन्।
विपत्तिको संवेदनशील घडीमा मनाइँदै गरेको विजयादशमीले नेपाली समाजलाई विगतभन्दा अझ बलियो एकताको सूत्रमा बाँध्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।
नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि तथा जस्तोसुकै संकटको सामना गर्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै लामिछानेले दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरेका छन्।
उनले सकारात्मक सोच, आपसी सद्भाव र नयाँ आशासहित सम्पूर्ण नेपालीलाई बडादसैँको शुभकामना दिएका छन्।