दार्चुलाको अपि हिमालमा पर्यटन उत्सव हुने भएको छ । अपि हिमाल गाउँपालिकामा अवस्थित अपि हिमालमा पर्यटन प्रबर्धनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
अपि हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार आगामी कात्तिक १७ देखि १९ गतेसम्म ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना हुनेछ । पर्यटन गतिविधि विस्तार गर्दै स्थानीयवासीका लागि रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने र अपि हिमाललाई देशविदेशमा चिनाउनका लागि यो उत्सव मनाउन लागिएको हो । यो उत्सवले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्य रहेको पनि अध्यक्ष बोहराले बताए ।
गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि अपि हिमाल पर्यटन उत्सव कार्यक्रम ल्याइएको र त्यसो कार्यान्वयन गर्नका लागि पनि यो कार्यक्रम आयोजना गर्न लागिएको बोहराले बताए ।
‘अपि हिमाल पर्यटन उत्सव’लाई व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्ष बोहराको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा गाउँपालिका उपाध्यक्ष, सबै वडाका अध्यक्षलगायत सदस्य रहनेद्धन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलाई समितिमा सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
यो उत्सव अपि हिमाल गाउँपालिका– १ स्थित अपि हिमाल आधार शिविरको मैदानमा सञ्चालन हुनेछ । अपि हिमालको आधार शिविरसँगै गाउँपालिकाका विभिन्न ठाउँमा पनि उत्सवसँग सम्नब्धित कार्यक्रम सञ्चालन गर्ने तयारी छ । एकीकृत पर्यटन उत्सव भएकाले गाउँपालिकाका सबै क्षेत्रले लाभ लिनसक्ने अध्यक्ष बोहराले बताए।
नेपाल सरकार र अपि हिमाल गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनामार्फत अपि हिमाल क्षेत्रको पर्यटन प्रबर्द्धन गरिँदै आएको छ । अपि हिमाल आधार शिविरलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा पर्यटकीय गतिविधि विस्तार गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पर्यटन उत्सवको उद्देश्यबारे अध्यक्ष बोहराले भने, ‘प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र साहसिक पर्यटनको सम्भावनाले भरिएको अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य गाउँपालिकाको छ ।’ अपि हिमालको आधार शिविरसम्म पर्यटन पूर्वाधार निर्माण, पदमार्ग विस्तार र पर्यटकीय गतिविधि बढाउने गाउँपालिकाको प्राथमिकतामा छ । अपि हिमाल आधार शिविरमापछिल्लो समय वार्षिक पाँच हजारभन्दा बढी पर्यटक पुग्ने गरेको बताउँदै अध्यक्ष बोहराले यो पर्यटन उत्सवपछि अपि हिमाल पुग्ने पर्यटकको संख्या वार्षिक १० हजार पुर्याउने लक्ष्य रहेको उनले बताए ।